विनय कार्कीले स्थापना गरे नयाँ व्याण्ड ‘विनय कार्की एन्ड थुङ्गा’
काठमाडौं।नेपाली संगीत क्षेत्रमा डेढ दशकभन्दा बढी समयदेखि सक्रिय गायक विनय के. टु (विनय कार्की) ले नयाँ व्याण्ड स्थापना गरेका छन्। शनिबार सार्वजनिक गरिएको व्याण्ड परिचयात्मक भिडिओमार्फत उनले ‘विनय कार्की एन्ड थुङ्गा’ नामक नयाँ व्याण्डमार्फत दर्शक–श्रोतासँग जोडिने घोषणा गरेका हुन्।

विनयले डेढ दशकअघि ‘द मिडल युनिट’ व्याण्डमार्फत आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। व्याण्डमा काम गर्दा बढी सन्तुष्टि मिल्ने अनुभव भएपछि पुनः व्याण्डमा सक्रिय हुने निर्णय लिएको उनले बताएका छन्। तीन वर्षअघिदेखि सुरु गरिएको प्रयास अहिले मूर्तरूपमा परिणत भएको हो। विनयका अनुसार व्याण्डले केही नयाँ गीतहरूको रेकर्डिङ पनि सकिसकेको छ।
पाँच सदस्यीय यस व्याण्डमा विनय लिड भोकलिस्टका रूपमा रहनेछन्। गिटारमा सलोन रम्तेल र रुशान्त विशुङ्खे, ड्रममा आदर्श शाही खड्गी र बास गिटारमा जोन रोका रहनेछन्।
व्याण्डले आउँदो साउन २४ गते राजधानीमा लाइभ कन्सर्ट गर्ने र सो अवसरमा नयाँ एल्बम सार्वजनिक गर्ने योजना बनाएको छ। सोही कन्सर्टमा व्याण्डको नयाँ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिनेछ।
विनय कार्की २०६३ सालमा ‘जब तिमी एक्लै थियौं’ गीतबाट चर्चामा आएका थिए। त्यसपछि ‘मायामा घात’ (२०७०), ‘मायामा फसे कि म’ (२०७८) जस्ता गीतहरूले उनलाई लोकप्रिय बनाएको थियो। पछिल्लो समय टिनएजर युवामाझ ‘एक्स लभर’ गीत निकै चर्चित छ।












