संघीय संसदका नौ समिति बैठक आज, महत्त्वपूर्ण विधेयकमाथि छलफल – Sagarmathapana:: Online News Portal

संघीय संसदका नौ समिति बैठक आज, महत्त्वपूर्ण विधेयकमाथि छलफल

   २०८२ असार २२ गते  

काठमाडौं।संघीय संसदका नौ वटा संसदीय समितिहरूको बैठक आज बस्दै छन् । प्रतिनिधि सभातर्फ अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन, उद्योग वाणिज्य तथा श्रम, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । त्यस्तै, राष्ट्रिय सभातर्फ संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक र संसदीय सुनुवाइ समितिको बैठक पनि आजका लागि तय गरिएको छ।

अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा परेका संशोधन प्रस्तावबारे प्रस्तावकर्ता सदस्यहरूसँग छलफल हुनेछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ मा परेका संशोधन प्रस्तावमाथि छलफल गर्ने कार्यसूची तय गरेको छ ।

उद्योग, वाणिज्य तथा श्रम समितिमा सरकारले किसानका लागि अनुदानमा उपलब्ध गराउँदै आएको रासायनिक मलको आयात र बिक्री वितरणसम्बन्धी कोटाबारे छलफल हुनेछ । कृषि तथा सहकारी समितिमा आगामी कार्यक्रम र समसामयिक विषयमा विचारविमर्श हुनेछ ।

पूर्वाधार विकास समितिमा विद्युत् विधेयक, २०८०, नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयक, २०८१, सुनकोशी मरिण डाइभर्सन आयोजना लगायत विविध विषयमा छलफल हुनेछ । शिक्षा समितिमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।

राष्ट्रिय सभातर्फ संघीयता सबलीकरण समितिमा स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदाबारे विचारविमर्श हुनेछ भने संसदीय सुनुवाइ समितिले कानुन, न्याय तथा संसदीय मामिला मन्त्री र सुनुवाइका लागि सिफारिस गरिएका व्यक्तिहरूका विषयमा छलफल गर्नेछ ।

आगामी असार २३ गते सोमबार प्रतिनिधि सभा र २४ गते राष्ट्रिय सभाको बैठक तय भएकाले समितिहरूले महत्त्वपूर्ण विधेयकहरूलाई प्राथमिकतामा राखी छलफल अघि बढाइरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै