हरिशयनी एकादशी : आजदेखि चतुर्मास आरम्भ, घरघरमा तुलसी पूजाअर्चना सुरु – Sagarmathapana:: Online News Portal

हरिशयनी एकादशी : आजदेखि चतुर्मास आरम्भ, घरघरमा तुलसी पूजाअर्चना सुरु

   २०८२ असार २२ गते  

काठमाडौं।आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको पावन अवसरमा आजदेखि घरघरमा तुलसी पूजाअर्चना विधिपूर्वक सुरु भएको छ। परम्पराअनुसार घरको तुलसी मोठमा नयाँ बिरुवा सारेर चार महिनासम्म गरिने विशेष पूजा आराधना आजबाट प्रारम्भ हुन्छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका प्रा. डा. देवमणि भट्टराईका अनुसार आजदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुन्छ र यही चार महिना ‘चतुर्मास’ का रूपमा चिनिन्छ। कार्तिक शुक्ल एकादशीसम्म चल्ने चतुर्मास व्रत अन्तर्गत भक्तजनले विष्णु प्रतीक तुलसीको आराधना गर्छन्।

आज बिहानैदेखि राजधानीका बूढानीलकण्ठ, चागुनारायण, शेषनारायण, बिशंकुनारायण र इचंगुनारायण मन्दिरलगायत देशभरका विष्णु र नारायण मन्दिरमा भक्तजनहरूको भिड लागेको छ। श्रद्धालुहरू फलाहार गरेर व्रत बसेका छन् भने रोटी, ढिँडो र फलफूल सेवन गर्ने परम्परा निभाएका छन्।

वास्तुशास्त्र र विज्ञानले तुलसीको महत्व पुष्टि गरिसकेको छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने, विषालु कीटाणु टाढा भाग्ने र वातावरण स्वच्छ बन्ने वैज्ञानिक मत रहेको छ।

चतुर्मासभर तुलसी पूजनपछि कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन तुलसीको विवाह भगवान् दामोदरसँग विधिपूर्वक गराइन्छ। त्यही दिन चतुर्मास व्रतको समापन गर्दै हवन अग्निस्थापना गरिन्छ।

शास्त्रीय मान्यताअनुसार वर्षभर पर्ने २४ एकादशीमध्ये चतुर्मासका आठ एकादशी विशेष महत्वका हुन्छन्। सबै एकादशीमा व्रत बस्न सक्नेले फलाहार गर्छन् भने समयाभाव वा स्वास्थ्यका कारण नसक्नेहरू कम्तीमा हरिशयनी र हरिबोधिनी एकादशीमा व्रत बस्छन्।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै