प्रचण्ड र देउवाबीच शीतल निवासको भेट हार्दिकतापूर्ण – Sagarmathapana:: Online News Portal

प्रचण्ड र देउवाबीच शीतल निवासको भेट हार्दिकतापूर्ण

   २०८२ असार २१ गते  


काठमाडौं।नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मिन विश्वकर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई कांग्रेसले दुईवटै काँध थापिदिँदा पनि गति पक्रिन नसकेको टिप्पणी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले भनेजस्तो गरी गति पक्रिन नसकेको बताएका हुन् ।

‘कांग्रेसले एउटामात्रै काँध होइन, दुईवटै काँध थापिदिएको छ सरकारलाई । तर, सरकारले भनेजस्तो गति पक्रिन नसकेको कुरा मैले ढाकाछोप गर्न सक्दिनँ । गति पक्रिन सकेको छैन । सुशासनको सम्बन्धमा भर्खरै सरलता र सुगमता आएको छ । नागरिकहरुमा वाहा ! सरकार भन्ने ढङ्गबाट, ओहो! परिवर्तन भयो नि त भन्ने ढङ्गबाट अथवा प्रत्येक नागरिकले मन, मस्तिष्कबाट सरकारलाई एकदम मुस्कानको साथ समर्थन गरोस् भन्ने हाम्रो अपेक्षा थियो । त्यो विन्दुमा पुर्याउन नसकिएको सत्य हो,’– उनले भने ।

साथै, नेता विश्वकर्माले अहिले आफूहरु सरकार परिवर्तनको पक्षमा नरहेको पनि बताए । उनले सकरार बदल्ने भन्दा पनि भइरहेको सरकारको कार्यशैली बदल्नेतिर आफूहरुले सोचिरहेको बताए । पार्टी केन्द्रीय समिति बैठकमा पनि सरकारको कार्यशैली परिवर्तको पक्षमा खुलेर छलफल भइरहेको उनले बताए ।

‘अहिले हामी सरकार बदल्ने भन्दा पनि सरकारको कार्यशैली बदल्नुपर्छ भन्ने निष्कर्षमा छौं । त्यही निष्कर्षको आधारमा केन्द्रीय समितिको बैठक चलिराखेको छ । यो सरकारको कार्यसम्पादनको बारेमा हामी समीक्षा गर्दैछौं । नागरिकका असन्तुष्टिलाई पनि हामीले बैठकमा छलफल गरेका छौं,’– उनले भने ।

गत शुक्रबार शीलत निवासमा पार्टी सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटलाई सरकार बदल्ने भेटको रुपमा चित्रण गर्न नहुने उनले बताए । ‘दुई शीर्ष नेता शेरबहादुर देउवा र प्रचण्डको बीचमा भएको भेटघाट सौहार्र्दपूर्ण, मैत्रीपूर्ण, हार्दिकताको साथ कुनै पर्व विशेषमा भएको भेट हो । त्यो सरकार बदल्नेको बारेमा भएको भेटघाट होइन,’– उनले भने ।

उनले सरकार जनताको टुटेको विश्वासलाई कसरी जोड्ने भन्नेतर्फ लाग्न आवश्यक रहेको बताए । नेता विश्वकर्माले कांग्रेसले हामी प्रधानमन्त्रीमा छैनौं भनेर उम्किने स्थितिमा नरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै