हलेसी तुवाचुङ नगरपालिकाबाट रैथाने उत्पादन प्रवर्द्धनमा नयाँ पहल : कोदोका परिकारको आधुनिक उत्पादन सुरु – Sagarmathapana:: Online News Portal

हलेसी तुवाचुङ नगरपालिकाबाट रैथाने उत्पादन प्रवर्द्धनमा नयाँ पहल : कोदोका परिकारको आधुनिक उत्पादन सुरु

   २०८२ असार २१ गते  

काठमाडौं।रैथाने बाली तथा उत्पादनको संरक्षण र प्रवर्द्धनमा सक्रिय हलेसी तुवाचुङ नगरपालिकाले कोदोको परम्परागत प्रयोगलाई आधुनिकरण गर्दै व्यवसायिक उत्पादनमा उन्मुख गराएको छ।

नगरपालिकाले ७ दिने विशेष तालिममार्फत व्यवसायीहरूलाई कोदोबाट बिस्कुट, कुकिज, निम्की, ब्रेड, मफिन, र दुनोटजस्ता परिकार बनाउने सीप प्रदान गरेको छ। तालिम पश्चात नगरप्रमुख विमला राईको हातबाट #डिनिता बेकरी उद्योग, वडा नं. १० अर्खौलेका सञ्चालकलाई Double Deck Gas Oven र Single Deck Gas Oven हस्तान्तरण गरिएको छ। साथै च्यस्मिटार–३ का भक्त बहादुर चाम्लिङलाई समेत आधुनिक ओभन उपलब्ध गराइएको छ।

नगरप्रमुख राईले हस्तान्तरण कार्यक्रममा कोदो जस्तै रैथाने बालीको संरक्षण र व्यवसायिक मूल्य अभिवृद्धि नगरपालिकाको प्रमुख प्राथमिकता रहेको बताइन्। “कोदो स्वास्थ्यका लागि अत्यन्त उपयोगी बाली हो। संयुक्त राष्ट्रसंघले सन् २०२३ लाई अन्तर्राष्ट्रिय कोदो वर्ष घोषणा गरेको पृष्ठभूमिमा हामीले यसको उत्पादन र उपभोगलाई व्यवहारमा उतार्ने प्रयास गरेका हौं,” उनले भनिन्।

नगरपालिकाले कोदोका परिकारलाई ब्राण्डिङ र आकर्षक प्याकेजिङमार्फत बजारमा स्थापित गर्ने योजना अघि बढाएको छ। नगरपालिकाका अनुसार यस्ता कार्यक्रमले स्थानीय रोजगारी सिर्जना र आर्थिक उन्नतिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै