रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड २०८१ असार २८ मा हुँदै
काठमाडौं—नेपाली गीत-संगीतको विकास र प्रवर्द्धनमा निरन्तर सक्रिय रेडियो कान्तिपुरले आयोजना गर्ने नेशनल म्युजिक अवार्ड २०८१ यही असार २८ गते हुने भएको छ। आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिइएको हो।
अवार्ड समारोह यस वर्ष ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिनेछ। कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गरिनुका साथै एकजना प्रतिष्ठित स्रष्टालाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिनेछ।
यस पटक अवार्डमा उत्कृष्ट हिपहप र आरएन्डबी विधा पनि थप गरिएको आयोजकले जनाएको छ।
सांगीतिक प्रस्तुतीका लागि कुम सागर, दुर्गेश थापा, सुशान्त घिमिरे, स्वप्न सुमन, अस्मिता अधिकारी, वाङ्देन शेर्पा लगायत चर्चित कलाकारहरू मञ्चमा प्रस्तुत हुनेछन्।
रेडियो कान्तिपुरले नेपाली संगीत उद्योगलाई प्रोत्साहन र सम्मान गर्ने उद्देश्यले हरेक वर्ष यो कार्यक्रम गर्दै आएको छ।












