इँटाभट्टामा पसिना बगाउँदै ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुर गुरुङको सहारा, एमबीबीएससम्म निःशुल्क पढाइने – Sagarmathapana:: Online News Portal

इँटाभट्टामा पसिना बगाउँदै ४ जीपीए ल्याएकी गोमालाई मीनबहादुर गुरुङको सहारा, एमबीबीएससम्म निःशुल्क पढाइने

   २०८२ असार २० गते  

काठमाडौं–अभाव र कठिनाइबीच पनि अठोट राख्नेहरूलाई सफलताले पछ्याउँछ भन्ने उदाहरण बनेकी छिन् गोमा श्रेष्ठ। बिहान–साँझ इँटाभट्टामा श्रम गर्दै एसईईमा उत्कृष्ट ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनी समूहका अध्यक्ष तथा समाजसेवी मीनबहादुर गुरुङ दम्पतीले एमबीबीएससम्म निःशुल्क पढाउने घोषणा गरेका छन्।


बिहीबार भाटभटेनी कार्यालयमा आयोजित कार्यक्रममा गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले गोमालाई एक लाख रुपैयाँ नगद, ल्यापटप र एमबीबीएसको सम्पूर्ण शैक्षिक खर्च ब्यहोर्ने प्रतिबद्धता जनाएका हुन्।

गोमाले कार्यक्रममा आफ्नो सपना डाक्टर बन्ने रहेको बताउँदै आर्थिक अवस्था कमजोर हुँदा लक्ष्यमा पुग्न चुनौती रहेको बताएकी थिइन्। यसै सन्दर्भमा गुरुङ दम्पतीले शिक्षा नै परिवर्तनको आधार हो भन्दै गोमाको सपना साकार पार्न हात अगाडि बढाएका हुन्।

गुरुङले यसअघि पनि आर्थिक रूपमा कमजोर पृष्ठभूमिका थुप्रै विद्यार्थीलाई एमबीबीएस र अन्य प्राविधिक शिक्षामा सहयोग गर्दै आएका छन्। कार्यक्रममा बोल्दै उनले भने, “देशको भविष्य यस्तै संघर्षशील युवामा छ। हामी गोमाजस्ता प्रतिभाहरुलाई प्रोत्साहन गर्न सधैं तयार छौं।”

कार्यक्रममा उपस्थितहरूमध्ये धेरैले गोमाको संघर्षलाई प्रेरणादायी भन्दै प्रशंसा गरेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै