प्रधानमन्त्री ओली स्पेन भ्रमण सकेर आज स्वदेश फर्किंदै
काठमाडौं।विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेनको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन्। प्रधानमन्त्री ओली अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने सूचना तथा प्रसारण विभागले जनाएको छ।
प्रधानमन्त्री ओली असार १४ गते शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरससँग भेटवार्ता गरेका थिए। साथै, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग द्विपक्षीय भेटवार्ताहरू सम्पन्न गरेका थिए।
प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता पनि गरे। उनले विकास सहायतामा नयाँ सोच सम्बन्धी छलफल र अन्य साइड इभेन्टहरूमा समेत नेपाली प्रतिनिधिमण्डलको सक्रिय सहभागिता सुनिश्चित गरे।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनको मेड्रिडस्थित विश्वप्रसिद्ध रियल मेड्रिड क्लबको सान्टियागो बर्नाबाउ रंगशाला अवलोकन गरे। उनले स्पेनस्थित नेपाली दूतावास निरीक्षण गर्नुका साथै त्यहाँको नेपाली समुदायसँग भेटघाट तथा छलफल पनि गरेका थिए।
प्रधानमन्त्री ओली केहीबेरअघि मात्र स्पेनको मेड्रिडबाट कतारको दोहा हुँदै स्वदेश फर्किने क्रममा प्रस्थान गरिसकेका छन्।












