चलचित्र ‘कुम्भ’ मंसिर १२ गतेदेखि देशभर प्रदर्शन हुने
काठमाडौं —लामो समयदेखि म्युजिक भिडियो निर्देशन र चलचित्र छायांकनमा सक्रिय निर्देशक रन्धिर श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको नेपाली एक्सन चलचित्र ‘कुम्भ’ यही मंसिर १२ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ।
ए रस प्रोडक्सन र ध्रुव एस्ट्रो वास्तु स्टुडियोको संयुक्त ब्यानरमा बनेको चलचित्र नेपाली र हिन्दी दुवै भाषामा एकैसाथ रिलिज हुनेछ।
चलचित्रमा दक्षिण भारतीय कलाकार सुरेन्द्र ठाकुर, नवनायक अशोक आर्यन, बरिष्ठ कलाकार सुनिल थापा र सुशील पोखरेल, साथै अफ्सना थापा, रोहित रुम्बा र सृष्टि खड्का मुख्य भूमिकामा देखिनेछन्।
निर्देशक श्रेष्ठ स्वयंले चलचित्रको छायांकन गरेका छन् भने सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ। रन्धिर श्रेष्ठ, ध्रुवराज पराजुली र राजेश साह निर्माण टोलीमा छन्। कार्यकारी निर्माताको जिम्मेवारी ईश्वर बल्लभ उप्रेतीले सम्हालेका छन्। चलचित्रको सम्पादन संदेश शाह र ध्रुवराज पराजुलीले गरेका हुन्।
चलचित्रको वितरण अधिकार श्री राम बालाजी फिल्म्सले लिएको छ। एक्सन, थ्रिल र पारिवारिक मनोरञ्जनको संगम रहेको यो चलचित्र दर्शकलाई फरक स्वाद दिने निर्माण पक्षको विश्वास छ।












