वैदेशिक रोजगार, राहदानी र उद्योग विभागको अनुगमन : मुख्यसचिव अर्यालको कडा निर्देशन – Sagarmathapana:: Online News Portal

वैदेशिक रोजगार, राहदानी र उद्योग विभागको अनुगमन : मुख्यसचिव अर्यालको कडा निर्देशन

   २०८२ असार १८ गते  

काठमाडौँ।मुख्यसचिव एकनारायण अर्यालले वैदेशिक रोजगार विभाग, राहदानी विभाग र उद्योग विभागमा छड्के अनुगमन गरी सेवा प्रवाह र सुशासनका अवस्था बारे निरीक्षण गरेका छन्। उनले सेवाग्राहीका गुनासा प्रत्यक्ष सुनेर केही समस्याको तत्काल समाधानसमेत गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्की पनि अनुगमन टोलीमा सहभागी थिए। अनुगमनको क्रममा मुख्यसचिव अर्यालले वैदेशिक रोजगार विभागलाई श्रम अनुमति प्रक्रियामा रहेका जटिलता तत्काल समाधान गर्न र सूचना प्रणालीलाई सेवाग्राहीमैत्री बनाउँदै अन्य सम्बन्धित प्रणालीहरूसँग जोड्न निर्देशन दिए। साथै, ठगीमा परेका र जोखिममा परेका नागरिकको उद्धार तथा राहतमा तीव्रता दिन र नेपाल प्रहरीसँग समन्वय गरी ठगिएका रकम फिर्ता गराउन कानुनी प्रक्रिया अघि बढाउन समेत उनले आदेश दिए।

राहदानी विभागमा अनुगमन गर्दै मुख्यसचिवले राहदानी वितरण प्रक्रिया अझ छरितो र सहज बनाउन र विदेशी रोजगार तथा अध्यागमन प्रणालीसँग राहदानी तथ्यांक जोड्न तत्काल काम सुरु गर्न निर्देशन दिएका छन्।

त्यस्तै, उद्योग विभागलाई निजी क्षेत्रका उद्यमी तथा लगानीकर्तालाई प्रविधिमैत्री र पारदर्शी सेवा प्रवाह गर्न, औद्योगिक सम्पत्तिको व्यवस्थापनमा पारदर्शिता ल्याउन र एकल विन्दु सेवा केन्द्रमार्फत सेवा सरल बनाउन निर्देशन दिएका छन्।

मुख्यसचिव अर्यालले सम्बन्धित निकायलाई लगानीकर्ता र निजी क्षेत्रले भोग्दै आएका समस्या तथा कठिनाइहरू यथाशीघ्र समाधान गर्न आवश्यक कार्य थाल्न विशेष जोड दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै