गीतकार टेक तामाङको सांगीतिक साँझ भव्य रुपमा सम्पन्न
काठमाडौं।गीतकार टेक तामाङको सिर्जनात्मक यात्रालाई समर्पित ‘गीतकार टेक तामाङ सांगीतिक साँझ – २०८२’ राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ। गीतकार संघ नेपालको आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा सम्पन्न कार्यक्रममा डेढ दर्जनभन्दा बढी चर्चित गायकगायिकाहरूले तामाङका गीतहरू प्रत्यक्ष प्रस्तुत गरेका थिए।

२५ जना वाद्यवादकको प्रत्यक्ष संगतमा प्रस्तुत गीतहरूले हलमा उपस्थित स्रोता दर्शकलाई मन्त्रमुग्ध बनायो। कार्यक्रममा स्रोता दर्शकको अत्याधिक उपस्थितिका कारण हल बाहिर एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको थियो।
कार्यक्रममा गीतकार संघ नेपालका अध्यक्ष बसन्त वित्यासी थापाको सभापतित्व, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्य तथा देशका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रस्तुत गीतहरूमा नेपाल मेरो घर (किरण प्रधान), आमा (शिव परियार), स्वर्ग सुख (डेबिड शंकर), मीठा मीठा बोली (रुपक चौधरी), जित्नेहरूको पनि (सत्यराज आचार्य), आफ्नै धड्कन (स्वरुपराज आचार्य), मन पर्छ (संगीता राना प्रधान), अल्झिरह्यो याद (प्रदीपराज पाण्डे), तिमी सागर (सञ्जय तुम्रोक, सुमिना लो), अँगालोमा बेरिरहुँ (अन्जु पन्त), मै खुकुरी (सञ्जय तुम्रोक), माथि माथि लेकमा (रेश्मा बमजन) लगायत १७ वटा लोकप्रिय गीत समावेश थिए।
संगीत संयोजन अशोक कुमार राईले गरेका थिए भने वाद्यवादन टोलीमा मनोहर सुनाम (भ्वायलिन संयोजक), शिला बहादुर मोक्तान (किबोर्ड), भरत बुढाथोकी (तालवादन संयोजक) लगायतका कलाकारहरू सहभागी थिए।
कार्यक्रममा सोल्टिनी र माथि माथि लेकमा गीतको म्युजिक भिडियो सार्वजनिक गरियो।
कार्यक्रम सञ्चालक दिनेश डिसी थिए भने सगरमाथा टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो।
गीतकार टेक तामाङले दर्शक स्रोताप्रति आभार व्यक्त गर्दै आफ्नो सांगीतिक यात्रा २०५० सालदेखि सुरु भए पनि यस साँझले नयाँ ऊर्जा दिएको बताए। आयोजक अध्यक्ष बसन्त वित्यासी थापाले कार्यक्रमले नेपाली गीत संगीत र सर्जकको हकहित प्रवर्द्धनमा योगदान दिने विश्वास व्यक्त गरे।












