सुनचाँदी व्यवसायीहरू सरकारविरुद्ध सडकमा : “अवैज्ञानिक कर हटे मात्र आन्दोलन रोक्छौं” – Sagarmathapana:: Online News Portal

सुनचाँदी व्यवसायीहरू सरकारविरुद्ध सडकमा : “अवैज्ञानिक कर हटे मात्र आन्दोलन रोक्छौं”

   २०८२ असार १६ गते  

काठमाडौं।नेपालका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको कर विरुद्ध सडक संघर्षमा उत्रिएका छन्। नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले आइतबार काठमाडौंमा आयोजित सचेतना सभामार्फत चरणबद्ध आन्दोलन सुरु गर्ने घोषणा गरेको हो।

व्यवसायीहरूका साझा छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले समेत अनिश्चितकालीन व्यवसाय बन्दको घोषणा गरेका छन्।

कार्यक्रममा संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारसँग पटकपटक संवाद प्रयास गर्दा पनि सुनचाँदी र आभूषण क्षेत्रमा लगाइएको २% विलासिता कर र बहुमूल्य हिरा-पत्थरमा १३% मूल्य अभिवृद्धि कर हटाउने विषयमा कुनै सुनुवाइ नभएको गुनासो गरे। “अब बाध्य भएर हामी चरणबद्ध आन्दोलनमा उत्रिएका छौं,” अध्यक्ष सुनारले भने।

उनका अनुसार करका कारण साना व्यवसायीहरू बजारबाट विस्थापित हुने खतरा बढेको छ। “हामी साना व्यवसायीहरू ठूला व्यवसायीकै छायामा हराउने अवस्थामा छौं। उपभोक्ता पनि महँगोका मारमा परेका छन्,” उनले थपे।

व्यवसायीहरूको माग छ — सुनको भन्सार शुल्क ६ प्रतिशतमा सीमित गरियोस, सुनचाँदी र आभूषण व्यवसायको लागि स्पष्ट नियमावली बनाइयोस, र कर संरचना व्यवसायमैत्री बनाइयोस।

संघले घोषणा गरेको चरणबद्ध आन्दोलन अन्तर्गत ललितपुर, भक्तपुर, हस्तकला संघ, शिल्प व्यवसायी संघ र कला व्यवसायी संघहरू पनि क्रमशः सडकमा आउनेछन्।

सरकारले भने अन्तर्राष्ट्रिय प्रचलनअनुसार विलासिता वस्तुहरूमा कर बढाइएको बताउँदै आएको छ। तर व्यवसायीहरू भने त्यसलाई “अवैज्ञानिक र अव्यावहारिक” भन्दै खारेजको माग गरिरहेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै