दलाल पुँजीपतिले सरकार ढालेको आरोप दाहालको, राष्ट्रिय पुँजी प्रवर्द्धनमा प्रतिबद्धता – Sagarmathapana:: Online News Portal

दलाल पुँजीपतिले सरकार ढालेको आरोप दाहालको, राष्ट्रिय पुँजी प्रवर्द्धनमा प्रतिबद्धता

   २०८२ असार १६ गते  

भक्तपुर—नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पुँजीपतिहरूले नेपाली कांग्रेस र नेकपा (एमाले)लाई खरिद गरी आफ्नै नेतृत्वको सरकार ढालेको आरोप लगाएका छन्।

शनिबार भक्तपुरमा नेपाल उद्योग व्यापार महासंघको सचिवालय बैठक तथा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले आफ्नो सरकारले राष्ट्रिय पुँजी प्रवर्द्धन र दलाल पुँजी नियन्त्रण गर्ने नीति लिँदा यस्तो अवस्था आएको बताए।

“हाम्रो नीतिको मूल मर्म दलाल पुँजीपतिलाई नियन्त्रण गर्दै राष्ट्रिय पुँजीलाई प्रवर्द्धन गर्ने नै थियो। दुर्भाग्यवश, दलाल पुँजीपतिले पहिले बुझिहाले—यदि माओवादी सत्तामा बस्यो भने उनीहरूको स्वार्थमा आँच आउँछ। त्यसैले कांग्रेस र एमालेलाई खरिद गरेर सत्ता समीकरण बनाए,” दाहालले आरोप लगाए।

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको सरकारले मुलुकको आर्थिक रूपान्तरणका लागि ऐतिहासिक कामहरू गरेको दाबी समेत गरे। उनले हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग, उत्तर–दक्षिण करिडोर जस्ता ठूला पूर्वाधार परियोजनाहरू जनताको जीवनस्तरमा क्रान्तिकारी परिवर्तन ल्याउने काम भएको उल्लेख गरे।

“हामीले आठवटा उत्तरी नाका खोल्ने निर्णय गर्‍यौं, जसले एकतर्फी व्यापार निर्भरता कम गर्न टेवा पुर्‍यायो,” दाहालले भने। साथै, विद्युत् लोडसेडिङ अन्त्य, किसानको ऋण मिनाह जस्ता जनपक्षीय निर्णय माओवादी नेतृत्वकै सरकारले गरेको भन्दै आगामी दिनमा यस्ता नीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै