नेपाल दुई वर्षमा धानमा आत्मनिर्भर हुने सरकारको दाबी
काठमाडौं—सरकारले आगामी दुई वर्षभित्र नेपाललाई धानमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेको छ। राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभयो।
मन्त्री अधिकारीका अनुसार आगामी आर्थिक वर्षको बजेटमा धान उत्पादनलाई विशेष प्राथमिकता दिइएको छ जसले आत्मनिर्भरता हासिल गर्न मद्दत पुग्नेछ। “चैते धान उत्पादनलाई प्रवर्द्धन गरी देशलाई चामल आयातमुक्त बनाउन सरकार प्रतिबद्ध छ,” मन्त्री अधिकारीले भन्नुभयो।
यद्यपि, किसानहरुले अझै पर्याप्त मात्रामा मल पाउन नसकेको अवस्थामा यस्तो घोषणा आएको भन्दै कतिपयले शंका व्यक्त गरेका छन्। धान रोपाईं सुरु भइसकेको बेला मल अभावले किसानहरू मर्कामा परेका छन्।
सरकारले आवश्यक मल, बीउ र प्रविधि सहज रुपमा उपलब्ध गराई आत्मनिर्भरता लक्ष्य पुरा गर्ने दाबी गरेको छ।












