मिस सुप्रानेसनल २०२५: दीक्षा अवस्थी उत्कृष्ट २४ मा, नेपालका लागि ऐतिहासिक सफलता
काठमाडौं।पोल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस सुप्रानेसनल–२०२५ मा नेपालको प्रतिनिधित्व गरेकी दीक्षा अवस्थी उत्कृष्ट २४ मा पर्न सफल भएकी छिन्। ६६ देशका प्रतिस्पर्धीहरूमध्ये नेपाल पहिलोपटक यो प्रतियोगितामा उत्कृष्ट २४ भित्र छिर्न सफल भएको हो, जसले देशको सौन्दर्य प्रतियोगिता इतिहासमा नयाँ कीर्तिमान थपेको छ।
शुक्रबार राति सम्पन्न फिनालेमा ब्राजिलकी एडुआर्डा ब्रुम लाई मिस सुप्रानेसनल–२०२५ को उपाधि प्रदान गरियो। उनलाई गत वर्षकी विजेता हर्रास्टा हाइफा जाहर ले ताज पहिराइदिएकी थिइन्।
प्रतियोगितामा जर्मनीकी अन्ना लाक्रिनी फस्ट रनरअप, कुराकाओकी क्विशान्टेली लेइटो सेकेन्ड रनरअप, फिलिपिन्सकी ताराह भ्यालेन्सिया थर्ड रनरअप र प्यूर्टो रिकोकी भ्यालेरी क्लेपाड्लो फोर्थ रनरअप घोषित भए।
नेपालका मिस्टर एण्ड मिस नेसनल का राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायले नेपाल पहिलो पटक यस्तो प्रतिष्ठित स्थानमा पुग्दा खुशीको सीमा नरहेको बताए। उनले भने, “उपाधि नजिते पनि दीक्षाले नेपालको नाम विश्वमञ्चमा चिनाउन ऐतिहासिक योगदान दिएकी छिन्।”
यो सफलता आगामी दिनमा नेपाली युवतीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न थप प्रेरणा बन्ने विश्वास गरिएको छ।












