सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौती परामर्श कार्यक्रम काठमाडौँमा सम्पन्न
काठमाडौँ।मातृभाषा पत्रकारितामा क्रियाशील पत्रकार र आदिवासी जनजाति अभियन्ताहरूले मातृभाषामा सञ्चार गर्न सहज वातावरण तयार पार्न तथा आदिवासी जनजातिसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वहरू प्रभावकारी कार्यान्वयन गर्न सरकारलाई गम्भीर ध्यान दिन आग्रह गरेका छन्।

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) संघीय समिति र नेपाल आदिवासी जनजाति महासङ्घको संयोजनमा “सञ्चार माध्यममा मातृभाषा पत्रकारिताको अवस्था र चुनौती” विषयक परामर्श कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूले मातृभाषा पत्रकारिता अझै पनि थुप्रै चुनौतीको घेरामा रहेको औँल्याउँदै सरकारले अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को महासन्धि १६९ र संयुक्त राष्ट्र संघीय घोषणा पत्र २००७ (UNDRIP) अन्तर्गत आदिवासी जनजातिका अधिकारप्रति गम्भीरता नदेखाएकोप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले यी अन्तर्राष्ट्रिय कानुनी प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्न ठोस नीति र कार्यक्रम आवश्यक रहेको बताए।


कार्यक्रममा सार्वजनिक सेवा प्रसारण संस्था नेपाल सञ्चालक समितिकी सदस्य अनिता गुरुङले रेडियो नेपाल र नेपाल टेलिभिजन जनताको सञ्चारमाध्यमका रूपमा अघि बढेको र मातृभाषा समाचार तथा कार्यक्रमलाई प्रभावकारी बनाउन पहल भइरहेको जानकारी दिइन्।
रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा प्रसाद वस्तीले आदिवासी जनजाति मातृभाषा र राष्ट्रभाषामा समेत कार्यक्रमहरू प्रसारण हुँदै आएको उल्लेख गरे। नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरी क्याम्पा राईले मातृभाषा पत्रकारितामा टेलिभिजनको योगदान र चुनौतीबारे प्रकाश पारे।

गोरखापत्र बहुभाषिक पृष्ठ संयोजक कुमार बिबेकानन्द मिश्रले गोरखापत्रमा मातृभाषा पत्रकारिताको सुरुवात र अनुभवबारे बताए भने फोनिज अध्यक्ष लक्की चौधरीले मातृभाषा पत्रकारितामा फोनिजको संघर्ष र योगदानबारे कार्यपत्र प्रस्तुत गरे।
गोरखापत्रका पूर्व प्रधान सम्पादक पुष्करभक्त माथेमाले निजी सञ्चार क्षेत्रमा मातृभाषा पत्रकारिताप्रति चासो बढ्दै गएकोमा सकारात्मक संकेत देखिएको बताए। सहभागीहरूले ILO 169 र UNDRIP अन्तर्गत आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न तथा मातृभाषा पत्रकारितालाई प्रवर्द्धन गर्न नीति तथा संरचनाहरू थप मजबुत बनाउनुपर्नेमा जोड दिए।
अन्त्यमा आयोजक संस्थाहरूले सहभागीहरूप्रति आभार व्यक्त गर्दै आदिवासी जनजाति अधिकार र मातृभाषा पत्रकारिताको प्रवर्द्धनमा सहकार्य र सहजिकरणका पहलहरू अघि बढाउने प्रतिबद्धता जनाए।














