पहिलो पटक मधेस प्रदेशको बजेटमा सञ्चार लक्षित कार्यक्रम समावेश
बारा, मधेस प्रदेश सरकारले पहिलोपटक सञ्चार क्षेत्रलाई लक्षित गर्दै आर्थिक वर्ष २०८२/८३ को बजेटमा विभिन्न कार्यक्रमहरू समावेश गरेको छ ।नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बञ्जाराको निरन्तर पहल र दबाबपछि प्रदेश सरकारले सञ्चार क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट विनियोजन गरेको हो ।
प्रदेश सरकारले आठवटै जिल्लाका पत्रकार महासंघ शाखाका लागि १० लाख रुपैयाँ छुट्याएको छ । तरफ महासंघले आठवटै जिल्लाका निम्ती ५० लाखको माग गरेको थियो । अध्यक्ष बञ्जाराले भने, ‘यो सुरुवात सकारात्मक भए पनि मागअनुसार बजेट पाउन सकेनौं।’ मिडिया सम्मेलन आयोजना गर्न छुट्याइएको ५ लाख रुपैयाँलाई पनि उनीहरूले न्यून ठानेका छन्। उनले भने, ‘यस रकमले प्रभावकारी सम्मेलन सम्भव छैन, थप बजेट आवश्यक छ।’ त्यस्तै, धनुषा, महोत्तरी र बाराका पत्रकार महासंघ भवन स्तरोन्नतिका लागि छुट्याइएको ६५ लाख रुपैयाँले पनि आवश्यक पूर्वाधार सुधार गर्न अपुग हुने बताइएको छ।
उनले लोककल्याणकारी विज्ञापन रकम संचार माध्यमलाई वार्षिक कम्तीमा एक लाख नघटाउने व्यवस्था, सञ्चार उपकरण खरिदमा अनुदान र सहुलियतपूर्ण ऋणको व्यवस्था, पत्रकारको जीवन तथा दुर्घटना बीमा, सामाजिक सुरक्षा कोषमा आबद्धता लगायतका मागहरू पनि सरकारसँग अघि सारेका छन । अध्यक्ष बञ्जाराले माग अनुसार सबै शीर्षकमा पूर्ण बजेट नआए पनि यो एक सकारात्मक सुरुवात भएको भन्दै गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीलाई धन्यवाद दिएका छन्। उनले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम र पर्याप्त बजेट सुनिश्चित गर्न मन्त्रालयसँग सहकार्य गर्दै जाने प्रतिबद्धता जनाएका छन ।












