मोहन वैद्य भेट्न वर्षमान दम्पत्ति घरमै पुगे – Sagarmathapana:: Online News Portal

मोहन वैद्य भेट्न वर्षमान दम्पत्ति घरमै पुगे

   २०८२ असार १३ गते  

काठमाडौँ।नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ र पूर्वसभामुख ओनसरी घर्तील क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव मोहन वैद्य ‘किरण’ लाई भेटेर उनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

पुन र घर्ती दम्पत्तिले बिहीबार काठमाडौंको टोखा हाइटस्थित वैद्य निवास पुगेर वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको हो । वैद्य लामो समयदेखि दमको समस्याबाट पीडित छन् । पछिल्लो समय दम बढ्नुका साथै छातीमा संक्रमण देखिएपछि ७९ वर्षीय वैद्य गत १५ जेठमा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । उनलाई १० दिनसम्म त्रिवि शिक्षण अस्पतालको सघन (आईसियूमा) राखिएको थियो ।

लामो समय उपचार गराएर वैद्य २ असारमा अस्पतालबाट डिस्चार्ज भएका थिए । नेता पुनका अनुसार वैद्यको स्वास्थ्य अवस्थामा चमत्कारिक सुधार देखिएको छ । ‘स्वास्थ्य अवस्था धेरै राम्रो भएको रहेछ । पहिला नियमित अक्सिजन लगाउनुपर्नेमा अहिले अक्सिजन नलगाई बस्न सक्ने हुनुभएछ’, पुनले भने, ‘बिहान बेलुका हल्का हिंड्न पनि थालेको छु भन्नुहुन्थ्यो ।’ पुन दम्पत्ति आफ्नो स्वास्थ्य अवस्था बुझ्न आएकोमा वैद्यले खुसी व्यक्त गरे । आफूहरुबीच राजनीतिकभन्दा स्वास्थ्य र पारिवारिक सम्बन्धबारे कुराकानी भएको पुनले उल्लेख गरे ।

वैद्य तत्कालीन नेकपा (माओवादी) को पूर्वी केन्द्रीय कमाण्डको इन्चार्ज हुँदा पुन सोही कमाण्डको दोश्रो वरियताको नेतासहित सैन्य फाँटको इन्चार्ज थिए । ०६१ सालमा पुन दम्पत्तिको दोश्रो सन्तानका रुपमा छोरा जन्मिँदा उनीहरु सँगै थिए । ‘हाम्रो बीचमा धेरै गहिरो भावनात्मक सम्बन्ध छ । हाम्रो छोराको नाम उत्सव उहाँले नै राखिदिनुभएको थियो । करिब ६ महिना सुष्मा भाउजु (वैद्य पत्नी) ले हाम्रो बाबुको स्याहार र संरक्षण गर्नुभएको थियो । हामीले ती कुराहरु पनि सम्झियौं ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै