काठमाडौँ उपत्यकामा लागुऔषध नियन्त्रणमा ऐक्यबद्धता आवश्यक : प्रहरी महानिरीक्षक थापा
काठमाडौँ।प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले लागुऔषध दुर्व्यसन नियन्त्रणमा सबै पक्षको ऐक्यबद्धता आवश्यक भएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले काठमाडौँ उपत्यकामा लागुऔषधको समस्या गम्भीर बन्दै गएको बताए।

आईजीपी थापाका अनुसार नेपाल प्रहरीले काठमाडौँ उपत्यका प्रहरी कार्यालयमार्फत लागुऔषध रोकथाम र नियन्त्रण अभियानलाई सशक्त रूपमा अघि बढाइरहेको छ। “हामी सबै पालिका, विभिन्न तहका निकाय र विद्यालयहरूमा सचेतनामूलक कार्यक्रम लिएर अघि बढिरहेका छौँ,” थापाले भने, “यदि सबैको ऐक्यबद्धता भयो भने लागुऔषध दुर्व्यसन नियन्त्रण गर्न सकिन्छ।”
थापाले लागुऔषधको माग (डिमान्ड) र आपूर्ति (सप्लाई) दुवै पक्षलाई नियन्त्रण गर्नका लागि स्पष्ट योजना बनाएर अघि बढ्न जरुरी रहेको उल्लेख गरे। प्रहरी तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको जेठ महिनासम्म नेपाल प्रहरीले अघिल्लो वर्षको तुलनामा ६५ प्रतिशत बढी गाँजा, ७७ प्रतिशत बढी अफिम, ७९ प्रतिशत बढी हिरोइन र ५३ प्रतिशत बढी अन्य लागुपदार्थ बरामद गरेको छ।
उनले लागुऔषधको न्यूनीकरण, रोकथाम र नियन्त्रणमा समयमै प्रयास नगरे उत्पादनशील र सृजनशील युवा जनशक्ति गुमाउने जोखिम बढ्ने चेतावनी दिए।












