गृहमन्त्री लेखकद्वारा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा
काठमाडौं।गृहमन्त्री रमेश लेखकले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार नियन्त्रण गर्न गृह मन्त्रालय अन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन्।
अन्तर्राष्ट्रिय लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८२/८३ भित्र नयाँ विभाग गठन गरिने जानकारी दिए।
गृहमन्त्री लेखकले लागूऔषध दुरुपयोग र तस्करीलाई “अत्यन्तै गम्भीर र प्राथमिकतामा राखिएको” मुद्दा भन्दै भने, “हामी लागूऔषध नियन्त्रणका लागि बेग्लै विभागको स्थापना गर्नेछौं। यो कार्य अब ढिलो गर्न मिल्दैन।”
उनका अनुसार लागूऔषधको विस्तार समाजमा भयावह रुपमा बढिरहेको छ र सबैभन्दा पहिला यसको सेवनले मानिसको जीवनमा पर्ने असरबारे चेतना फैलाउनु आवश्यक छ। उनले चेतनामूलक कार्यक्रमहरू विद्यालयसम्म पुर्याउनु जरुरी रहेको उल्लेख गरे।
गृहमन्त्रीले देशभरका कारागारहरूमा रहेका कैदीबन्दीमध्ये लागूऔषध सम्बन्धी मुद्दा दोस्रो ठूलो संख्यामा रहेको समेत जानकारी गराए।












