एसईई नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी
भक्तपुर।यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० का परीक्षा नियन्त्रक डा. गणेशप्रसाद भट्टराईले नतिजा प्रकाशनको अन्तिम चरणमा तीव्र गतिमा काम भइरहेको जानकारी दिएका छन्।
उनका अनुसार उत्तरपुस्तिकाको परीक्षण र सम्परीक्षण सकिएपछि हाल प्राप्तांक इन्ट्री र रुजु गर्ने कार्य भैरहेको छ। “हामीले असारको तेस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेका छौं। कर्मचारीहरू डबल सिफ्टमा खटेर काम गरिरहेका छन्। प्रविधिले राम्रो साथ दिएमा तोकिएको मितिभन्दा पनि अगाडि नतिजा प्रकाशित गर्न सकिन्छ,” भट्टराईले भने।
यसअघि असार ६ गतेभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनेको थियो। तर, २०८१ चैत २० देखि २०८२ वैशाख १७ गतेसम्म शिक्षकहरूले काठमाडौंमा गरेको सडक आन्दोलनका कारण काममा ढिलाइ भएको हो।
गएको २०८१ चैत ७ देखि १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।












