प्रचण्डको चिन्ता : समितिबाट पारित विधेयक सदनमा अलमलिन सक्ने
काठमाडौँ।नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समितिबाट पारित भइसकेका महत्वपूर्ण विधेयकहरू संसदमा ढिलो हुने खतरा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
बुधबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सरकारले विधेयक पारित प्रक्रियामा अनावश्यक ढिलाइ गर्नसक्ने संकेत देखिएको बताए। प्रहरीसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा सहभागी भएका प्रचण्डले संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता विषयलाई तत्काल अगाडि बढाउनुपर्ने धारणा राखे।
‘महत्त्वपूर्ण विधेयकहरू लचिलो समझदारीमा पारित गरौं’
प्रचण्डले भने, ‘सरकारसँग केही लचिलो भएर समझदारी गरेर भए पनि महत्वपूर्ण संघीय निजामती ऐन, विद्यालय शिक्षा विधेयक लगायत पारित गरौं। तर कता–कता चिन्ता भएको छ, यत्तिकै टारिने त होइन भन्ने। सरकारको ध्यानाकर्षण गराइराखेको छु – छेडाछाड नगरियोस्, ढिलाइ नगरियोस्।’
उनले विधेयकहरू समितिबाट पारित भएर सदनमा जानासाथ प्रक्रिया अगाडि बढ्ने विश्वास जनाए पनि कार्यान्वयनको चरणमा सरकारबाट नै ढिलाइ हुने सम्भावनाले चिन्तित भएको संकेत गरे।
प्रचण्डको भनाइलाई विश्लेषकहरूले सरकार र सत्तारूढ दलभित्रको समन्वय अभाव तथा विधायन प्रक्रियामा देखिएको अनिच्छाको रुपमा हेरेका छन्। आगामी संसद अधिवेशनमा यी विधेयकहरूको भविष्य के हुने हो भन्नेमा भने अझै अन्योल कायम रहेको छ।












