चन्द्रागिरि बजेट राजनीतिक हचुवाको भरमा आएको रास्वपाको आरोप
काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिले चन्द्रागिरि नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट राजनीतिक हचुवाको भरमा निर्माण गरिएको भन्दै कडा आलोचना गरेको छ। पार्टीले बजेटमा नीति, तथ्य र नागरिक सरोकारको समुचित प्रतिबिम्ब नदेखिएको दाबी गरेको हो।


रास्वपाले ६६ करोड रुपैयाँको मात्र आन्तरिक आम्दानी अनुमान भएको अवस्थामा २ अर्ब ९३ करोडको बजेट ल्याइनु ‘नीति र यथार्थ विपरित’ भएको निष्कर्ष निकालेको छ। पार्टीले बजेटमा प्राथमिकता विपरित कार्यक्रमहरू समावेश गरिएको, उपभोक्ता समिति प्रणाली अपारदर्शी रहेको, नगर सञ्चालनमा संवादको अभाव देखिएको र गुटगत ध्रुवीकरणका कारण समग्र प्रणाली नै प्रभावित भएको उल्लेख गरेको छ।
यसै विषयमा आज रास्वपाको नगरस्तरीय प्रतिनिधिमण्डल चन्द्रागिरि नगरपालिकामा पुगेर नगरप्रमुख घनश्याम गिरी र प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापा मगरलाई ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ।

ज्ञापनपत्रमा बेरुजु विवरण सार्वजनिक गर्नुपर्ने, स्वतन्त्र लेखा परीक्षण समिति गठन गर्नुपर्ने, बजेट निर्माणमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्नुपर्ने, र वडास्तरमा बजेटको न्यायपूर्ण वितरण हुनुपर्ने लगायतका मागहरू समेटिएका छन्।
ज्ञापनपत्र बुझाउने प्रतिनिधिमण्डलमा रास्वपा काठमाडौं जिल्ला समिति सभापति प्रदिप बिष्ट, क्षेत्र नम्बर १० का संयोजक रामराजा थापा, नगर समिति सभापति जनार्दन केसी, तथा वडा सभापतिहरू सहभागी थिए।
रास्वपाले चन्द्रागिरिमा पारदर्शिता, जवाफदेहिता र जनसहभागिताको सुनिश्चिततासहितको सुशासन स्थापित गर्न स्थानीय सरकारको ध्यानाकर्षण गराएको जनाएको छ।















