चलचित्र ‘रियाल रिङ्गेट’ को गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ सार्वजनिक – Sagarmathapana:: Online News Portal

चलचित्र ‘रियाल रिङ्गेट’ को गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ सार्वजनिक

   २०८२ असार ११ गते  

काठमाडौं–नेपाली चलचित्र ‘रियाल रिङ्गेट’ को बहुप्रतिक्षित ओएसटी (OST) गीत ‘जिन्दगी: उडी जाने हो कहाँ’ मङ्गलबार काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमा हलमा एक विशेष समारोहका बीच सार्वजनिक गरिएको छ।

रेबेल फिल्म्सद्वारा निर्माण गरिएको यो चलचित्रले वैदेशिक रोजगारीमा होमिन बाध्य नेपालीहरूको यथार्थ कथा बोकेको छ। गीत सार्वजनिक कार्यक्रममा फिल्म यूनिटसहित साहित्य, संगीत र सिनेमाका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

गीतमा रवि मल्ल र कोसिस क्षेत्रीको संयुक्त रचना, चन्दन ध्वज केसी र किरण तुलाधरको संगीत तथा केतन क्षेत्रीको सुमधुर स्वर रहेको छ। किरण तुलाधरकै एरेञ्जमा तयार पारिएको यस गीतमा विदेशमा संघर्षरत नेपालीहरूको पीडा, सपना र आशाको द्वन्द्व सजीव रूपमा चित्रण गरिएको छ।

कार्यक्रममा चर्चित कवि नाथन रायनले आफ्नो कविता वाचन गर्दै भने, “जब त्रिभुवन विमानस्थलबाट जहाज उड्यो, जहाजसँगै सपना र जिन्दगी उड्यो।” यस कविता र चलचित्रबीचको भावनात्मक सम्बन्धले दर्शकहरूको मन छुने अपेक्षा गरिएको छ।

गीत सार्वजनिक कार्यक्रममा गायक केतन क्षेत्रीले प्रत्यक्ष प्रस्तुति दिँदा हल तालीले गुञ्जिएको थियो।

चलचित्रका निर्देशक विभोर पोखरेलले ‘रियाल रिङ्गेट’ हरेक नेपालीको कथा भएको बताउँदै आम नेपाली दर्शकको मन छोने विश्वास व्यक्त गरे। निर्माता गगनलाल प्रधानले नेपाली श्रमिकहरूको कथा उजागर गर्न यो चलचित्र निर्माण गरिएको बताए। प्रधानले २०३९ सालमा भिडियो फिल्म ‘अभिलाषा’ निर्माण गरेका थिए र रेबेल क्रियशनमार्फत धेरै कलाकारहरूलाई स्थापित गरिसकेका छन्।

चलचित्रमा प्रमोद चौलागाईं, निता ढुङ्गाना, छुल्ठिम डोल्मा गुरुङ, रवीन्द्र खड्का, ध्रुव कोइराला, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय छ। प्रदीप भारद्वाजको लेखन रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि घलेको छायाङ्कन, विपिन मल्लको सम्पादन, राजीव समरको कोरियोग्राफी, र किरण तुलाधरको ब्याकग्राउन्ड स्कोर समावेश छ।

चलचित्रको नाम ‘रियाल रिङ्गेट’ कतारको रियाल र मलेसियाको रिङ्गेट मुद्रा मिलाएर राखिएको हो, जुन नेपाली श्रमिकको मुख्य गन्तव्य देशहरूप्रति संकेत हो।

चलचित्र श्रावण १६ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै