दैलेख ग्यास एक वर्षभित्र उपयोगमा ल्याउने प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको भैरवी गाउँपालिकास्थित जलजले क्षेत्रमा भेटिएको प्राकृतिक ग्यास एक वर्षभित्रै उपयोगमा ल्याउन निर्देशन दिएका छन्। उनले मिथेन ग्यासको परीक्षण उत्पादन तत्काल सुरु गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएका हुन्।
आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उच्च अधिकारी तथा खानी विभागसँगको ब्रिफिङमा प्रधानमन्त्री ओलीले ग्यास उत्पादनमा आवश्यक बजेट तथा सहजीकरण सरकारले सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे।
चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न अन्वेषणमा ११२.१ अर्ब घनमिटर मिथेन ग्यास फेला परेको प्रारम्भिक प्रतिवेदन चाइना जियोलोजिकल सर्भे ले उद्योग मन्त्रालयलाई बुझाएको हो। प्रारम्भिक रिपोर्टअनुसार, दैलेखकै अन्य तीन कुवामा समेत गरी ४३० अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ, जसले ५० वर्षसम्मको माग पूरा गर्न सक्ने सम्भावना देखिएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चिनियाँ प्राविधिक टोलीको मूल्याङ्कन उद्धृत गर्दै ग्यास भण्डारको पुष्टि गरेका हुन्। प्रधानमन्त्री ओलीले यो उपलब्धिलाई नेपालका लागि ऊर्जाको क्षेत्रमा “ऐतिहासिक मोड” का रूपमा व्याख्या गर्दै राष्ट्रकै हितमा यसलाई शीघ्र उपयोग गर्ने आवश्यकतामा जोड दिए।
प्रधानमन्त्रीको निर्देशनसँगै अब परीक्षण उत्पादनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। यदी यो परियोजना सफल भयो भने, नेपाल इन्धन आपूर्तिमा आत्मनिर्भर बन्ने दिशातर्फ ठूला पाइला चाल्नेछ।












