संघीय संसद् बैठक: विनियोजन विधेयकमाथि उठेका प्रश्नको आज मन्त्रीहरूबाट जवाफ – Sagarmathapana:: Online News Portal

संघीय संसद् बैठक: विनियोजन विधेयकमाथि उठेका प्रश्नको आज मन्त्रीहरूबाट जवाफ

   २०८२ असार ९ गते  

काठमाडौं–संघीय संसद्को प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज (सोमबार) बस्दैछ। बिहान ११:०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने प्रतिनिधि सभाको बैठकमा चालू आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयक अन्तर्गत उठेका प्रश्नहरूको मन्त्रीहरूबाट जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ।

यस बैठकमा वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसंख्या, कानुन, न्याय तथा संसदीय मामिला, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका शीर्षकमाथि अघिल्लो छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।

त्यस्तै युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका बजेट शीर्षकमाथि उठेका प्रश्नहरूमा पनि मन्त्रीहरूको जवाफ अपेक्षित छ।

अर्कोतर्फ, राष्ट्रिय सभाको बैठक आज अपराह्न १:१५ बजे बस्दैछ। उक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन’ पेस गर्नेछन्। साथै, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

संघीय संसद्का यी दुवै बैठकमा आगामी बजेट कार्यान्वयन, मन्त्रालयगत प्राथमिकता र नीति-निर्माणसम्बन्धी बहसहरू अपेक्षित छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै