पशुपति क्षेत्र विकास कोषका सचिवसहित १४ जना विरुद्ध १० करोड भ्रष्टाचार मुद्दा – Sagarmathapana:: Online News Portal

पशुपति क्षेत्र विकास कोषका सचिवसहित १४ जना विरुद्ध १० करोड भ्रष्टाचार मुद्दा

   २०८२ असार ९ गते  

काठमाडौं—पशुपति क्षेत्र विकास कोषमा विद्युतिय शवदाह मेसिन खरिदमा ठूलो रकम हिनामिना भएको आरोपमा सदस्य सचिव डा. मिलनकुमार थापा सहित १४ जना र २ वटा कम्पनी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, कोषले २०८० असार ५ गते शवदाह मेसिन खरिदको लागि सार्वजनिक बोलपत्र आह्वान गरेको थियो। तर, सो प्रक्रियामा सार्वजनिक खरिद ऐन २०६३ को स्पष्ट उल्लङ्घन गर्दै १० करोड ३३ लाख ९१ हजार रुपैयाँको सरकारी रकम हिनामिना भएको पुष्टि भएपछि भ्रष्टाचार मुद्दा अगाडि सारिएको हो।

मुद्दामा कोषका तत्कालीन निमित्त सदस्यसचिव राजुकुमार खत्री, कार्यकारी निर्देशक घनश्याम खतिवडा, उपनिर्देशक रेवती रमण अधिकारी, तथा उपनिर्देशक सिताराम रिसेलसमेत संलग्न छन्। यस्तै, इन्जिनियर पशुपति ठाकुर, डेनिस उप्रेती, रमेश पुरी र लेखा अधिकृत चन्द्र प्रसाद खनालसमेत प्रतिवादीमा परेका छन्।

साथै, उक्त मेसिनको परीक्षण नगरीै जडान गरिएको, मूल्यांकन नगरी भुक्तानी गरिएको र बोलपत्र प्रक्रियामा निष्पक्षता नअपनाइएको आरोपसहित दुई कम्पनीलाई पनि मुद्दामा समावेश गरिएको छ।

सार्वजनिक सम्पत्ति दुरुपयोग र व्यवस्थापन प्रक्रियामा लापरवाही देखिएको भन्दै आयोगले दोषीहरूविरुद्ध कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै