प्रतिनिधिसभामा सांसद खतिवडाको गुनासो:‘मेरो गुम्बा खै? मेरो स्कुल खै?’
काठमाडौँ–नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संघीय बजेटमा आफ्नो क्षेत्रलाई उपेक्षा गरिएको गुनासो गर्दै प्रतिनिधिसभामा असन्तुष्टि पोखेका छन्। आइतबारको संसद बैठकमा बजेटमाथि धारणा राख्दै उनले जनप्रतिनिधि र स्थानीय जनताबाट तीव्र असन्तोष आएको बताए।
खतिवडाले भने, “एउटा मेरो पालिकाको वडाध्यक्षले लेख्नु भएको छ– ङिच्च गर्दै ‘मेरो पालिकामा आउलास् नि तँ’ भनेर एसएमएस गर्नु भएको छ। त्यो म अर्थमन्त्रीलाई पठाइदिउँ की, अन्य मन्त्रीलाई पठाइदिउँ की, म आफैँसँग राखुँ?”
उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले अनेक कोणबाट बजेट माग गरिरहेको उल्लेख गरे। “सबैबाट त्यो आएको छ – मेरो बाटो खै? मेरो गुम्बा खै? मेरो स्कुल खै? मेरो मन्दिर खै? मेरो खानेपानी खै?” भन्दै खतिवडाले सरकारको ध्यानाकर्षण गराए।
सांसद खतिवडाको भनाइले संघीय बजेटमा क्षेत्रीय असन्तुलन तथा पहुँच नपुगेका स्थानीय तहहरूको निराशा झल्किएको देखिन्छ। उनले बजेट वितरणमा समावेशीता र समानताको मागसमेत राखे।












