बजेट विवेकसहित ल्याऊ, विभेद अन्त्य गर”– सांसद डा. सुनिल शर्माको संसदमा चेतावनी
काठमाडौं–बजेटमाथिको संसदीय छलफलको क्रममा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले आज संसदमा जनभावनालाई छुने ढंगमा राज्यसत्ताप्रति कडा प्रश्न उठाए।
“हामी बुद्धका अनुयायी हौँ भनेर गर्व गर्छौं,” उनले भने, “तर बुद्धका मूल्य–त्याग, समवेदना र विवेक राज्यबाट हराउँदै छन्।” उनका शब्दहरूमा तीखो आलोचना मात्र होइन, जनताप्रतिको प्रतिबद्धताको भावना पनि झल्किएको देखियो।
डा. शर्माले बजेटलाई समावेशी, समतामूलक र न्यायपूर्ण बनाउनुपर्नेमा जोड दिँदै भने, “पाँच जिल्लाले मात्र शासन चल्दैन, ७७ वटै जिल्लाका जनता सेवा, अधिकार र सम्मानका लागि समान छन्।”
उनको भनाइमा मुगुदेखि मधेस र कर्णालीदेखि पहाडसम्मका नागरिकलाई एउटै नजरले हेर्नुपर्ने आवश्यकता छ। “बजेट समन्यायिक हुनुपर्छ,” उनले चेतावनी दिँदै थपे, “विभेदले जनताको भरोसा मर्छ। अब विवेक बोल्नुपर्छ, बजेट जनताको बनोस्।”
डा. शर्माको यस्तो स्पष्ट र धारिलो अभिव्यक्तिले बजेट निर्माण प्रक्रियामा विवेक, संवेदना र समानताको बहसलाई नयाँ उचाइ दिएको छ। संसदभित्रको यस्तो आवाजले नीति–निर्मातालाई थप जिम्मेवार र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।












