सांसद धवलशमशेर राणाको तीनकुने घटनाबारे कडा टिप्पणी, “जिम्मेवारी राज्यले लिनुपर्छ”
काठमाडौं—राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्ने स्पष्ट पारेका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै सांसद राणाले उक्त घटना आफूहरूको कारणले नभई राज्यको असफलताका कारण भएको बताएका हुन्। उनले भने, “चैत १५ गतेको तीनकुने घटना हाम्रो कारणले नभई राज्यको कारणले भएको हो।”
राणाले मेडिकल व्यवसायी डा. दुर्गा प्रसाईँको पनि बचाउ गर्दै उनले निमुखा जनताको सेवामा समर्पित व्यक्ति भएको उल्लेख गरे। “प्रसाईँजी जनताको सेवा गर्न लाग्नु भएको हो, उहाँले पनि त्यो घटना गराउनु भएको होइन,” उनले भने।
उनले सरकारमाथि छानबिनबाट डराइरहेको आरोप लगाउँदै निष्पक्ष छानबिनका लागि विशेष समिति गठन गर्न माग गरे।
“सरकार छानबिन गर्न किन डराइरहेको छ?” भन्दै उनले सभामुखसमक्ष गम्भीर रूपमा छानबिनको माग समेत दोहोर्याए।
सांसद राणाको यो अभिव्यक्तिले घटनाप्रति सरकारको भूमिकामा थप प्रश्न उठाएको छ भने निष्पक्ष छानबिनको माग पुनः बलियो रूपमा उठेको छ।












