भिजिट भिसा प्रकरणमा जनताको मुद्दा बोलिरहेका छौं, तर सरकार सुन्न तयार भएनः सुमना श्रेष्ठ
काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले सरकारले जनताको आवाज सुन्नै नचाहेको बताएकी छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दैै उनले भिजिट भिसा प्रकरणमा आफूहरुले जनताको आवाज उठाउँदै आउँदा सरकार सुन्न तयार नभएको बताएकी हुन् । उनले सरकारले यति ठूलो मुद्दामा संसदीय छानविन समिति बनाउने वा उच्चस्तरीय आयोग बनाउनेबारेमा कहीँकतै प्रतिवद्धता व्यक्त नगरेको उनले बताईन् ।
‘यो सदनमा हामीले यतिका दिनसम्म एउटै माग, जनताको माग राखेर हामी उभिइरहेका छौं । तर, अहिलेसम्म पनि सरकारले न त संसदीय छानविन समिति, न त उच्चस्तरीय छानविन आयोग बनाउँछौं भनेर कहीँ कतै पनि जनताको आवाजको सुनुवाइ गरेको छैन । सदनमा जनताको आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने ? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन, जनताको आवाज यहाँ सुनुवाइ हुन्छ, यहाँ सरकारले सुन्छ भनेर, सरकार कसको लागि ? दुर्वलको लागि कि शक्ति भएकाहरुको लागि ?’ प्रश्न गर्दै उनले भनिन् ।
नेतृ श्रेष्ठले युवाहरु एक करोड तिरेर एक वर्ष लाग्ने बाटोबाट किन अमेरिका जान चाहन्छन् भन्नेबारेमा सरकार छानविन गर्न तयार हुनुपर्ने बताईन् । उनले खाँडी मुलुकमा घरासयी काममा र रसियामा भिजिट भिसामै युवाहरु गइरहेको बताईन् । उनले भनिन्, ‘हाम्रा युवा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्षको जर्नी लगाएर । किन ? त्यसमा छानविन गर्न पर्दैन ? पोलिसी रिफर्म के–के गर्ने सोच्नुपर्दैन ? जाने माध्यम के हो ? भिजिट भिसा । रसियामा कसरी गएको छ ? भिजिट भिसामा ।
खाँडी मुलुकमा, कुबेतमा डोमेष्टिक वर्कमा कसरी गएका छन् ? भिजिट भिसामा । आफ्नै अगाडि आफ्नो मोल राखेर मालिकले किनबेच गरिराखेको छ । त्यसको विरुद्ध होइन हामीहरु ? के–को हिसाबले हामी सभ्य समाजमा छौं भन्ने ? अहिले आफू पावरमा छु भनेर जनताको यति ठूलो मुद्दाको समाधान नखोजी सरकार बसिराखेको छ ।’












