सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत महालक्ष्मी मावि नखीबोटामा सरकारी वकिलको जनचेतनामूलक कार्यक्रम सम्पन्न
ललितपुर।सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको संयोजनमा महालक्ष्मी माध्यमिक विद्यालय, नखीबोटमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कक्षा १० मा अध्ययनरत ६२ जना विद्यार्थी सहभागी रहेको कार्यक्रममा सरकारी वकिलको भूमिका, कर्तव्य, कानुनी प्रक्रिया र घटनामा हुने कारबाहीबारे सह–न्यायाधिवक्ता बसन्त अर्यालले प्रस्तुति दिनुभयो।
कार्यक्रमको अध्यक्षता जिल्ला न्यायाधिवक्ता लोकबहादुर कटवालले गर्नुभयो भने विद्यालयका प्रधानाध्यापक राजन राई प्रमुख अतिथि हुनुहुन्थ्यो। विद्यार्थीहरूले उठाएका कानुनी जिज्ञासाहरूको उत्तर जिल्ला न्यायाधिवक्ताले दिनुभएको थियो।
झण्डै ३ घण्टा लामो कार्यक्रम प्रभावकारी रहेको सहभागी विद्यार्थीहरूको प्रतिक्रिया थियो। उनीहरूले यस्तो कार्यक्रम सबै विद्यालयमा आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलकी प्रमुख फूल कुमारी पौडेलले गर्नुभएको थियो।














