रास्वपाका सांसदहरूको कालो वस्त्रमा संसदमा प्रदर्शन, प्रधानमन्त्रीसँग संवाद नहुँदा बैठक बहिष्कार
काठमाडौं–संघीय संसदको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरू कालो वस्त्रमा संसद भवनमा प्रवेश गर्दै एक फरक शैलीमा विरोध प्रदर्शनमा उत्रिए। विश्वव्यापी मानव तस्करीविरुद्धको ऐक्यबद्धता जनाउँदै सांसदहरूले निलो रिबनसमेत लगाएका थिए।

सांसद मनिष झाले संसद बैठकपछि सञ्चारकर्मीहरूसँग भने, “हामी प्रधानमन्त्रीज्यूलाई केही गम्भीर प्रश्नहरू राख्न चाहन्थ्यौं, तर उहाँले त्यो सुन्ने चाहना देखाउनु भएन।” प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको कुरा नसुनी बैठकबाट बाहिरिएको भन्दै रास्वपाका सांसदहरूले बैठक बहिष्कार गरेका हुन्।
“हामीले आफ्नो कुरा राख्न पाएनौं, प्रधानमन्त्रीले पनि सुनिदिनु भएन, त्यसैले हाम्रो उपस्थिति निरर्थक ठानी बैठकबाट बाहिरिएको निर्णय लियौं,” सांसद झाको भनाइ थियो।
रास्वपाले यो कदम कुनै व्यक्तिगत असन्तुष्टि नभई संसदीय अधिकार र जवाफदेहिताको पक्षमा उठाइएको विरोध भएको स्पष्ट पारेको छ। “हामी संसदमा प्रश्न गर्न, उत्तर खोज्न आएको हो। यदि प्रधानमन्त्रीले नै सुनिदिनु भएन भने संसदको अर्थ के रहन्छ?” एक अन्य रास्वपा नेताले भने।
संसदमा अभिव्यक्ति स्वतन्त्रता र जवाफदेहिताको महत्वबारे बहस चर्किंदै गएको बेला रास्वपाको यो शैलीको विरोधलाई केहीले साहसी कदम भनेका छन् भने अरूले संसदको मर्यादालाई प्रभावित गर्ने कार्यको रूपमा हेरेका छन्।
अब संसदमा सत्ता र विपक्षबीचको सम्बन्ध कता मोडिन्छ भन्ने चासो थपिएको छ।












