मोहर’को पहिलो गीत सार्वजनिक, नीति र पलको प्रेमले दर्शकलाई लोभ्याउने
काठमाडौं— साउन २३ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको नेपाली सिनेमा ‘मोहर’ ले आफ्नो पहिलो गीत सार्वजनिक गरेको छ। ‘चाहिँदैन मोहर, पर्दैन सुकी’ बोलको यो रोमान्टिक गीतमा नायिका नीति शाह र नायक पल शाहको प्रेम सम्बन्धलाई भावनात्मक तरिकाले प्रस्तुत गरिएको छ।
शरद हुमागाँई र विशाखा शाहीको स्वरमा सजिएको गीतमा प्रमोद ढुंगानाको शब्द र सुरेश अधिकारीको संगीत रहेको छ। गीतको कोरियोग्राफी चर्चित नृत्य निर्देशक रामजी लामिछानेले गरेका छन्।
सार्वजनिक भिडियोमा पल र नीतिबीचको केमिस्ट्री विशेष आकर्षण बनेको छ। रोमान्टिक दृश्य, सांगीतिक माधुर्यता र दृश्यांकनले गीतलाई थप आकर्षक बनाएको छ।
‘मोहर’ सिनेमा ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको हो भने निर्माता चुम्बन जंग शाही हुन्। सिनेमा **फिल्म मेकर्स प्रा.लि.**को व्यानरमा निर्माण भएको हो।
सिनेमामा पल शाह, नीति शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरीलगायतका चर्चित कलाकारको अभिनय देख्न पाइनेछ। साथै, बाल–कलाकार सारा शर्माको उपस्थिति पनि विशेष रहने छ।
भूपेन्द्र अधिकारीको सम्पादन, दिपेन बस्न्यातको छायांकन, कुमार महर्जनको एक्सन निर्देशन, समिर मियाको भीएफएक्स, सत्यम रानाको सीजीआई, र लक्ष्मण राज पौडेलको प्रोडक्सन डिजाइनले सिनेमालाई प्राविधिक रूपमा बलियो बनाएको बताइएको छ।
सिनेमाको वितरण रिच इन्टरटेन्मेन्ट, एफडी कम्पनी र एप्पल इन्टरटेन्मेन्टले गर्नेछ।












