रास्वपाको निरन्तर अवरोध: गृहमन्त्रीको राजीनामाको माग यथावत
काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय संसदमा निरन्तर अवरोध जारी राख्दै आएको छ। असार १३ गतेदेखि सुरु भएको यो अवरोध आजसम्म पनि कायम छ। आजको संसद बैठकमा पनि रास्वपाका सांसदहरूले विरोध जनाउँदै सदन अवरुद्ध गरेका छन्।
रास्वपाका सांसद हरि ढकालले लाखौं नेपाली युवाहरू वैदेशिक रोजगारीको नाममा ठगिएको गम्भीर विषय उठाएका छन्। उनले सरकारले यस्तो संवेदनशील मुद्दालाई बेवास्ता गरेको आरोप लगाउँदै गृहमन्त्रीको तत्काल राजीनामा र एक उच्चस्तरीय छानबिन समिति गठनको माग दोहोर्याए।
ढकालले सभामुख देवराज घिमिरे संसद चलाउन सक्रिय देखिए पनि सरकारको रवैया उदासीन रहेको उल्लेख गरे। साथै, उनले गृहमन्त्रीसँग सोधे— “विमानस्थलबाट मानव बेचबिखन ब्युरो किन हटाइयो?”
रास्वपाले गृहमन्त्रीको राजीनामा नआएसम्म र छानबिन समिति गठन नभएसम्म संसद अवरोध कायमै रहने स्पष्ट पारेको छ। यता, सभामुख घिमिरेले भने अवरोधका बाबजुद संसदलाई यथासम्भव अघि बढाउने प्रयास गरिरहेका छन्।












