रास्वपाको नयाँ कदम: वैकल्पिक शक्तिहरूसँग संवादका लागि कार्यदल गठन – Sagarmathapana:: Online News Portal

रास्वपाको नयाँ कदम: वैकल्पिक शक्तिहरूसँग संवादका लागि कार्यदल गठन

   २०८२ असार ५ गते  

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मुलुकमा नयाँ राजनीतिक धारा निर्माण गर्न वैकल्पिक शक्तिहरूसँग संवाद सुरु गर्ने भएको छ। बिहीबार सम्पन्न सचिवालय बैठकले ‘सहकार्य–संवाद कार्यदल’ गठन गर्ने निर्णय गर्दै वैकल्पिक राजनीति पक्षधर, अभियन्ता तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रक्रिया अघि बढाउने भएको हो।

पार्टीका प्रवक्ताले बताए अनुसार, रास्वपा अब देशभर फैलिरहेका स्वतन्त्र राजनीतिक धाराहरूलाई एउटै मञ्चमा ल्याउन अग्रसर हुनेछ। “विषम राजनीतिक अवस्थाको समाधान वैकल्पिक धाराहरूको एकतामा छ भन्ने विश्वाससहित हामी यो नेतृत्वदायी भूमिका लिन लागेका हौँ,” बैठकपछि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

पार्टीले आफ्नै पहिलो महाधिवेशनको तयारीस्वरूप सातै प्रदेशमा संगठन विस्तार अभियान पनि सञ्चालन गर्ने निर्णय गरेको छ। यस अभियानमार्फत पार्टीले देशभर वैकल्पिक राजनीतिमा विश्वास राख्ने युवाशक्ति र अभियानकर्तालाई समेट्ने रणनीति बनाएको छ।

संसदमा प्रभावशाली उपस्थितिको बावजुद स्थायी राजनीतिक गठबन्धनमा सहभागी नभएको रास्वपा अब स्वतन्त्र र नवप्रवेशी शक्तिहरूको साझा मोर्चा निर्माणतर्फ अग्रसर हुँदैछ। यस कदमले आगामी निर्वाचनहरूमा वैकल्पिक राजनीतिलाई नयाँ दिशा दिने विश्लेषण राजनीतिक वृत्तमा हुन थालेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै