डाबरटोल–नैनपुरटोल खानेपानी आयोजना उद्घाटन : हजारौं नागरिकको सपना साकार
धनगढीमाई,सिरहा|धनगढीमाई नगरपालिकाको वडा नं ११, १२ र १३ का बासिन्दाहरूको वर्षौँदेखिको सुरक्षित र शुद्ध खानेपानी पिउने सपना आज साकार भएको छ। संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाअन्तर्गत डाबरटोल–नैनपुरटोल खानेपानी आयोजना आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो।
खानेपानी मन्त्री प्रदीप यादवले आयोजना उद्घाटन गर्दै सरकारको तर्फबाट नागरिकलाई सुरक्षित, भरपर्दो र नियमित खानेपानी सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याउँदै यस आयोजना मार्फत हजारौँ नागरिकलाई राहत मिल्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री यादवको भनाइ:
“वडा नं ११, १२ र १३ का हजारौँ नागरिकलाई अब शुद्ध खानेपानीको अभाव झेल्नुपर्नेछैन। यसले सरकारको नागरिकप्रतिको उत्तरदायित्व र प्रतिबद्धता प्रष्ट पार्दछ,” उहाँले भन्नुभयो।
उहाँले नागरिक सहभागिता, स्थानीय सरकार र प्राविधिक सहयोगबिना कुनै पनि आयोजना सफल नहुने उल्लेख गर्दै सबैको भूमिकालाई प्रशंसा गर्नुभयो।
संघीय आयोजनाबाट ८,६०० भन्दा बढी लाभान्वित
रु १० करोड ९४ लाखको लागतमा पाँच वर्षमा निर्माण सम्पन्न भएको यो आयोजनाबाट कम्तिमा १,५०० घरधुरीका ८,६०० भन्दा बढी स्थानीय लाभान्वित हुने संघीय आयोजना प्रमुख हरिप्रसाद शर्माले जानकारी दिनुभयो।
अन्य वक्ताहरूको धारणा:
खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्यले नागरिक हितलाई केन्द्रमा राखेर मन्त्रालयले योजना बनाएको जानकारी दिनुभयो।
विभागीय महानिर्देशक रामुकमार श्रेष्ठले तराई–मधेशका २८० अधुरा योजना चाँडै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभयो।
मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री सत्रुधनप्रसाद सिंह र नगरप्रमुख शिवशङ्कर महतोले यो आयोजना दीर्घकालीन समाधान भएकोमा खुशी व्यक्त गर्नुभयो।
समाजमा सकारात्मक प्रभावको अपेक्षा
स्थानीय बासिन्दाले अब पानीका लागि टाढा जानु नपर्ने, सरसफाइ र स्वास्थ्यमा सुधार आउने भन्दै आयोजानालाई स्वागत गरेका छन्।
उक्त कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, कर्मचारीसहित हजारौँको सहभागिता थियो। आयोजना उद्घाटनले धनगढीमाई नगरपालिकामा विकासको नयाँ ढोका खोलेको स्थानीयहरूले प्रतिक्रिया दिएका छन्।












