भिजिट भिसा प्रकरणले फेरि अवरुद्ध संसद्, बैठक अनिश्चितकालका लागि स्थगित हुने सम्भावना – Sagarmathapana:: Online News Portal

भिजिट भिसा प्रकरणले फेरि अवरुद्ध संसद्, बैठक अनिश्चितकालका लागि स्थगित हुने सम्भावना

   २०८२ असार ५ गते  

काठमाडौं–प्रतिनिधि सभाको बैठक आज पुनः प्रभावित भएको छ। बिहान ११ बजेका लागि तोकिएको बैठक तोकिएको समय नाघ्दासमेत सुरु हुन सकेको छैन। सभामुख देवराज घिमिरे राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा व्यस्त छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लगातार दबाबपछि संसद् सञ्चालनमा अवरोध आइरहेको छ। रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडान दोहोर्‍याउँदै आएको छ।

संसद्‌मा वेल घेर्ने, नारा जुलुस गर्नेजस्ता दबाबमूलक कार्यले बैठक सुरु गर्न कठिन भइरहेको छ। स्रोतका अनुसार, सभामुखले अवरोध हटाउन दलहरूसँग अन्तरपार्टी सहमति जुटाउने प्रयास गरिरहेका छन्।

प्रतिनिधिसभा सचिवालयका अनुसार, सहमति नजुटे बैठक अनिश्चितकालका लागि स्थगन गर्नुपर्ने अवस्था आउन सक्छ। सत्ता पक्ष भने छानबिनको मोडालिटीबारे स्पष्ट धारणा नदिई समय बिताउने रणनीतिमा देखिएको छ।

विपक्षी दलहरूले सरकारमाथि गम्भीर प्रश्न उठाइरहेका बेला संसद् बारम्बार अवरुद्ध हुनु सार्वजनिक चासोको विषय बन्दै गएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै