योगेश भट्टराईको दाबी : “अगामी निर्वाचनमा ३० हजार भोट ल्याउँछु”
काठमाडौं।नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले आगामी प्रतिनिधिसभा निर्वाचन (२०७९) मा ३० हजार भोट ल्याउने ठोकुवा गरेका छन् ।
प्राइम टिभीको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुराकानी गर्दै नेता भट्टराईले विगतको निर्वाचन परिणाम र आगामी योजनाबारे आफ्नो दाबी राखेका हुन् ।
“२०७९ को निर्वाचनमा मैले २२ हजार भोट ल्याएको हुँ,” उनले भने, “अब २०८४ मा त्योभन्दा अझ बढी, ३० हजार भोट ल्याउँछु ।”
धमलाले २०७४ मा जनताले फूलमाला लगाएका तर पछिल्लो समय कालो झण्डा देखाउन थालेको उल्लेख गर्दै प्रश्न गरेका थिए । त्यसको जवाफमा भट्टराईले भने, “फूलमाला नलगाएको भए म सांसद कसरी भएर आएँ त ? म समानुपातिकबाट होइन, प्रत्यक्ष निर्वाचन जितेर आएको हुँ ।”
अर्को प्रसंगमा, भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् ।
उनले स्पष्ट रूपमा भने, “केपी ओलीले २०८३ को असारमा शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्नुहुन्छ । जेठभित्रै प्रधानमन्त्री पद छाडेर बालकोट फर्कनुहुनेछ । राष्ट्रपति शपथ गराउनेछन्, अनि सिंहदरबारमा पद बहाली हुनेछ ।”
एमाले नेताको यो अभिव्यक्तिलाई आगामी सत्ता समीकरण र निर्वाचन रणनीतिसँग जोडेर हेरिएको छ ।












