प्रधानमन्त्री ओलीलाई राजा नै आएपनि केही टेन्सन छैनः प्रचण्ड
काठमाडौं।नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजावादीहरु नै आए पनि केही फरक नपर्ने टिप्पणी गरेका छन् । (मंगलबार) चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले राजावादीहरु सल्बलाउँदा अहिलेको सरकारलाई कुनै टेन्सन नै नभएको बताएका हुन् ।
‘देश जहाँसुकै जाओस्, ऐन कानुन जेसुकै हुन्, संविधान जेसुकै होस् भन्यो भने संविधान नै धरापमा पर्ने खतरा मैले देखिराखेको हुन्छु । हिजो पनि, आज पनि तपाईँले हेर्नुभयो भने सत्ता पक्षलाई राजावादी नै आए पनि धेरै टेन्सन भएको देख्नुभएको छ तपाईँहरुले । राजावादी नै आउँछन् भने पनि अहिलेको सरकारको नेतृत्वलाई टेन्सन भएको कहीँ कतै देखिँदैन,’– उनले भने ।
माओवादी प्रतिपक्षमा भए पनि वर्तमान व्यवस्था र संविधानप्रतिको जिम्मेवारी आफूहरुलाई गहिरोगरी बोध रहेकोउनले बताए । जनताले प्राप्त गरेको अधिकारको रक्षा, व्यवस्थाको रक्षालगायतका कुराका लागि आफूहरुले तराई–मधेश अभियान नै छाडेर काठमाडौं फर्किएको पनि उनले स्मरण गराए ।
‘हामी प्रतिपक्षमा छौं । तर, जिम्मेवारी बोधको दृष्टिकोणले यो सिस्टमको रक्षाको दृष्टिकोणले, जनताले प्राप्त गरेको अधिकारको रक्षाको दृष्टिकोणले हामी अगाडि नआउँदा दुर्घटना हुने खतरा हामीले देख्यौं । हामी तराई–मधेशमा जनतासँग अभियानमा थियौं । तर, काठमाडौंमा आजै नारायणहिटी छिर्ने रे, भोलि नै नारायणहिटी छिर्ने रे भनेको जस्तो होहल्ला र सरकारसँग असन्तुष्ट मान्छेहरु पनि जोडिइसकेपछि हामीले ठान्यौं हाम्रो जिम्मेवारी छ,’– उनले भने ।
अध्यक्ष प्रचण्डले संघीय निजामति ऐन, विद्यालय शिक्षा ऐन, नागरिकता ऐन, शान्ति प्रक्रियासम्बन्धी बाँकी काम टुङ्ग्याउनुपर्ने विषयहरु प्रति आफूले जिम्मेवार भएर सोचेको र भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग दुई बुँदे सम्झौता गरेको उनले बताए । अध्ययन र छानविनलाई गम्भीरतापूर्वक अगाडि बढाउने र ३० दिनभित्र छानविनका लागि समिति बनाउने कुराको प्रतिवद्धता आएपछि आफूहरुले ऐन बनाउने कुराको प्राथमिता बोध गरेर संसद् सुचारु गर्नेतिर लागेको उनले बताए ।
‘गृहमन्त्रीको राजीनामा माग गरेका थियौं । हामी कडै ढंगले प्रस्तु्त भएका पनि थियौं । राजीनामा नैतिकताको कुरा हो भन्ने पनि हामीलाई थाहा थियो । अहिले हामीले फेरि यो दुई बुँदे भन्ने कुरा आएको छ नि । यो दुई बुँदे नगरेको भए पनि हुन्थ्यो भन्छन् कसैले, कसैले के भन्छन् । यो चाहीँ बडो बचकना कुरा हो भन्ने लाग्छ । उनीहरुले नेपाली राजनीतिलाई नबुझ्नुको परिणाम पनि हो । यो अन्तरविरोधको परिस्थिति थाहा नपाउनुको उपज पनि हो,’– उनले भने ।












