जारी २’को छायांकन सम्पन्न, बडादशैंमा प्रदर्शन हुने
काठमाडौं-कवि तथा फिल्म निर्देशक उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भइरहेको बहुप्रतिक्षित नेपाली सिनेमा ‘जारी २’ को छायांकन कार्य सम्पन्न भएको छ। निर्माण कम्पनी बाँसुरी फिल्मस् अनुसार सिनेमाको सम्पूर्ण छायांकन पाँचथर जिल्लामा ३६ दिनको अवधिमा सम्पन्न गरिएको हो।
निर्माण टिमले सिनेमा दशैंको अवसरमा प्रदर्शन हुने जानकारी दिएको छ भने रिलिजको ठ्याक्कै मिति भने सार्वजनिक गरिएको छैन। सिनेमाको छायांकन सकिएसँगै प्रमुख कलाकारहरू दयाहाङ राई र मिरुना मगरको लुक्स पनि सार्वजनिक गरिएको छ। सार्वजनिक तस्बिरहरूमा मिरुनालाई लिम्बू परम्परागत पोशाकमा र दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै देख्न सकिन्छ, जसले फिल्मको मौलिकता र सांस्कृतिक रङलाई झल्काउँछ।
सिनेमाको स्लोगन ‘Song of Chyabrung’ राखिएको छ, जसले यसपटक पनि लिम्बू समुदायको सांस्कृतिक कथा र संगीतलाई केन्द्रमा ल्याउने संकेत गरेको छ।
‘जारी २’ अघिल्लो ब्लकबस्टर ‘जारी’ को सिक्वेल हो, जसले २०७९ सालमा १७ करोडभन्दा बढीको व्यापार गर्दै नेपाली बक्स अफिसमा सफलता हासिल गरेको थियो।
यसपटक पनि फिल्म बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को संयुक्त व्यानरमा निर्माण भइरहेको छ भने सफल निर्देशक रामबाबु गुरुङ निर्माता छन्। सिनेमामा दयाहाङ र मिरुना बाहेक विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहनेछ।
अब दर्शकहरूका लागि प्रतिक्षाको घडी सुरु भएको छ, ‘जारी २’ ले अघिल्लो भागको सफलतालाई दोहोर्याउनेछ कि अझ माथि लैजानेछ भन्ने हेर्न बाँकी नै छ।












