विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित हुनेमा अन्यौल, थप बुँदामाथि अझै छलफल जारी – Sagarmathapana:: Online News Portal

विद्यालय शिक्षा विधेयक असार १५ भित्र पारित हुनेमा अन्यौल, थप बुँदामाथि अझै छलफल जारी

   २०८२ असार २ गते  

काठमाडौं—प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलरत विद्यालय शिक्षा विधेयक यही असार १५ गतेभित्र पारित हुने सम्भावना कमजोर देखिएको छ। विधेयकमा शिक्षा क्षेत्रका विविध सरोकार र मागहरू समेट्नुपर्ने दबाबका कारण छलफल लम्बिइरहेको छ।

समितिका सभापति अम्मरबहादुर थापाका अनुसार, पछिल्लो चरणमा समिति तर्फबाट १७ वटा नयाँ बुँदा थपिएका छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ३३ वटा नयाँ बुँदा प्रस्तुत गरेका छन्। यी बुँदाहरूमाथि परामर्श उपसमितिमा छलफल जारी रहेको सभापति थापाले जानकारी दिनुभयो।

“थपिएका बुँदामा सरकार र समितिबीच सहमति जुटाउन प्रयास भइरहेको छ,” सभापति थापाले भन्नुभयो, “तर मन्त्रालय र समितिको धारणा अझै पूर्ण रूपमा मिल्न सकेको छैन।”

उक्त विधेयकमा समावेश गरिनुपर्ने विषयहरूमा एकमत नहुँदा विधेयक पारित हुने मिति अन्यौलमा परेको हो। यसअघि जेठ ११ गतेदेखि स्थगित रहेको समिति बैठक दुई दिनअघि मात्र पुनः सुरु भएको थियो।

शिक्षा क्षेत्रका सरोकारवाला समूहहरूले सबै पक्षको आवाज विधेयकमा प्रतिबिम्बित हुनुपर्ने माग गरिरहेका छन्, जसले गर्दा विधेयक पारित प्रक्रिया थप जटिल बन्दै गएको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै