बागमती प्रदेशको ६७ अर्ब ४७ करोडको बजेट सार्वजनिक, कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा
काठमाडौं–बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उक्त बजेट प्रस्तुत गरेका हुन्।
यस वर्षको बजेटमा कुल रकममध्ये २६ अर्ब ४ करोड ४६ लाख (३८.६ प्रतिशत) चालू खर्च र ४१ अर्ब ४३ करोड २६ लाख (६१.४ प्रतिशत) पूँजीगत खर्चमा विनियोजन गरिएको छ। बजेट खर्चका लागि कर राजस्वबाट २८ अर्ब ७८ करोड, अन्य आम्दानीबाट ६ अर्ब ७९ करोड, संघीय सरकारबाट प्राप्त वित्तीय हस्तान्तरणबाट ४१ अर्ब ८१ करोड, र सञ्चित कोष तथा विविध स्रोतबाट १६ अर्ब ९८ करोड जुटाइने अनुमान गरिएको छ।
स्थानीय तहलाई १४ अर्ब बढी हस्तान्तरण
प्रदेश सरकारले १४ अर्ब १५ करोड ८९ लाख रुपैयाँ स्थानीय तहलाई अनुदान र कर बाँडफाँडमार्फत हस्तान्तरण गर्ने योजना सार्वजनिक गरेको छ। समानीकरण अनुदान, सशर्त अनुदान, समपुरक तथा विशेष अनुदान लगायतका शीर्षकमा रकम विनियोजन गरिएको हो।
कृषि र पर्यटनमा विशेष जोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि २ अर्ब ६३ करोड बजेट विनियोजन गरिएको छ। कृषि उपज बजार केन्द्र, आधुनिक बधशाला, विषादी विश्लेषण प्रयोगशाला, ‘एक जिल्ला, एक कृषि उत्पादन’ कार्यक्रम, दोलखामा किवी र चितवनमा गोलभेंडा प्रशोधन केन्द्र स्थापना योजना बजेटमा समावेश छन्।
दूधमा प्रतिलिटर अनुदान, सहुलियत ऋण, दुग्धजन्य पदार्थ उत्पादन कारखाना, शीत भण्डार सञ्चालनको योजना पनि समेटिएको छ।
पर्यटन पूर्वाधारमा ३ अर्ब ६७ करोड
पर्यटन तथा संस्कृति मन्त्रालयको लागि ३ अर्ब ६७ करोड बजेट विनियोजन गरिएको छ। दोलखाको डाँङ्डुङे डाँडामा फिल्म सिटी विकास, हेलम्बु ग्रेट ट्रेल, किस्पाङ नौघडेरी, सैलुङ मिनी ग्रेट वाल निर्माण तथा धार्मिक पदमार्ग पहिचान कार्यक्रम बजेटमा समावेश छन्।
चितवनलाई पर्यटन हब बनाउने र गोकर्णेश्वरमा राजनीतिक क्रान्ति सङ्ग्रहालय स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ।
अन्य प्राथमिकता र योजनाहरू
- ‘चेपाङ चिउरी चमेर’ कार्यक्रम सञ्चालन
- पाठेघर क्यान्सर, मिर्गौला उपचार जस्ता स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता
- नैतिक शिक्षाका लागि पाठ्यक्रम विकास
- नेवारी, तामाङ लगायत भाषा-संस्कृतिको उत्थान
- सडक र पूर्वाधार विकासमा जोड
- मुख्यमन्त्री स्वास्थ्य योजना कार्यान्वयन
- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमार्फत स्वास्थ्यकर्मी उत्पादन
- सञ्चार क्षेत्रको क्षमता विकासमा लगानी
- कारागारका कैदीबन्दीलाई सीपमूलक तालिम र उत्पादनमुखी बनाउने
बजेटमाथि छलफल असार १२ गतेदेखि
सभामुख भुवनकुमार पाठकका अनुसार बजेटमाथिको छलफलका लागि असार १२ गते बिहान ११ बजेबाट प्रदेशसभा बैठक सुरु हुने छ, जसले पाँच दिनसम्म निरन्तर बैठक गर्नेछ।












