संसदमा अवरोधकै बीच बैठक सञ्चालन, सभामुख घिमिरेको निर्णयको राप्रपा र रास्वपाबाट आलोचना – Sagarmathapana:: Online News Portal

संसदमा अवरोधकै बीच बैठक सञ्चालन, सभामुख घिमिरेको निर्णयको राप्रपा र रास्वपाबाट आलोचना

   २०८२ असार २ गते  

काठमाडौं–भिजिट भिसा प्रकरणलाई लिएर संसदमा चर्किएको विवादले सोमबार पनि तातेको देखिएको छ। संसद बैठक सुरु हुनु केही समयअगावै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू बैठक कक्षको भुईंमा बसेर नाराबाजीमा उत्रिए, भने राप्रपाले भने बैठक बहिष्कार गर्दै सभामुख देवराज घिमिरेको निर्णयको आलोचना गरेको छ।

सभामुख घिमिरेले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)सहित अन्य दलहरूको अवरोधबीच बैठक सञ्चालन गरेपछि राप्रपाले तीव्र असन्तुष्टि जनाएको हो। राप्रपाले प्रतिपक्षी दलहरूको आवाज दबाउँदै संसद् सञ्चालन गर्नु लोकतान्त्रिक परम्पराविपरीत भएको टिप्पणी गरेको छ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने नेकपा माओवादी केन्द्रले दुई बुँदे सहमतिका नाममा अन्य प्रतिपक्षीलाई धोका दिएको आरोप लगाउँदै, रास्वपा एक्लैले भए पनि सुशासनको पक्षमा दृढताका साथ उभिने बताएका छन्। “हामी अल्पसंख्यकमा छौं, तर सत्यको पक्षमा छौं,” परियारले भने, “जनताको चासो र पीडाको प्रतिनिधित्व गर्न संसदमा हाम्रो अभियान जारी रहनेछ।”

संसद बैठक सञ्चालन भइरहँदा रास्वपाका सांसदहरू वेल अगाडि उभिएर नाराबाजी गर्दै विरोध जनाइरहेका थिए। उता राप्रपाले सभामुखको निर्णयलाई अलोकतान्त्रिक भन्दै विरोधस्वरूप बैठकमा सहभागी हुन अस्वीकार गरेको हो।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसहित विरोध जारी राख्दै आएका प्रतिपक्षी दलहरूले संसदभित्रको यो गतिरोध चाँडै अन्त्य नगरे गम्भीर राजनीतिक संकट उत्पन्न हुने चेतावनीसमेत दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै