चलचित्र ‘मिरमिरे’मा सिर्जना निङलेखुको प्रवेश, दयाहाङ र प्रकाशसँग दोहोरिन्छ सहकार्य
काठमाडौं–अभिनेत्री सिर्जना निङलेखु नेपाली चलचित्र ‘मिरमिरे’मा अनुबन्धित भएकी छन् । चर्चित कलाकार दयाहाङ राई र गायक तथा अभिनेता प्रकाश सपूतपछि ‘मिरमिरे’मा अनुबन्धित हुने उनी तेस्रो प्रमुख कलाकार हुन्।
‘कार्साङ’ जस्तो समीक्षात्मक रुपमा सफल चलचित्रमा मुख्य भूमिकामा देखिएकी सिर्जनाले ‘मिरमिरे’मा पनि महत्वपूर्ण भूमिका निभाउने भएकी छन् । पहिलो चलचित्र ‘कार्साङ’मै दयाहाङ राईसँग सहकार्य गरेकी सिर्जनाले दोस्रो चलचित्रमा पनि दयाहाङसँगै पर्दा शेयर गर्ने भएकी हुन्।
चलचित्रमा अनुबन्धित भएपछि उनले खुशी व्यक्त गर्दै भनिन्, “महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित हुन पाउँदा अत्यन्तै खुसी छु। यो विश्वासका लागि निर्माण टिम र निर्देशकलाई धन्यवाद दिन चाहन्छु।” उनले आफूलाई दिइएको जिम्मेवारीलाई कुशलतापूर्वक निभाउने प्रतिबद्धता समेत जनाएकी छन्।
हालसम्म अभिनेत्री सिर्जनाको जोडी को हुनेछ भन्ने विषयमा निर्माण पक्षले खुलाएको छैन । अन्य कलाकारहरूको लाइनअपबारे पनि औपचारिक जानकारी बाहिर आएको छैन, तर हालसम्म सार्वजनिक कलाकारहरूको आधारमा ‘मिरमिरे’ बलियो स्टार कास्टसहितको चलचित्र हुने देखिएको छ।
‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन्। उनले निर्देशनसँगै कथालेखन पनि स्वयंले गरेका छन्। निर्देशक शेर्पाका अनुसार चलचित्र ग्रामीण परिवेशमा आधारित सामाजिक कथामा निर्माण हुनेछ।
यार्सा फिल्म्सको ब्यानरमा निर्माण हुने ‘मिरमिरे’का निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा छन् भने सह-निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ रहेका छन्। चलचित्रको कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।
२०८२ सालमा प्रदर्शन हुने तयारीमा रहेको ‘मिरमिरे’को रिलिज मिति भने अझ तय गरिएको छैन। चलचित्रलाई आरआर फिल्म्सले वितरण गर्नेछ।












