सामाजिक सञ्जालमार्फत घृणा फैलाएको अभियोगमा एक महिला पक्राउ
काठमाडौं—सामाजिक सञ्जाल TikTok मार्फत विभेदपूर्ण र घृणास्पद सामग्री प्रसारण गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले एक महिलालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–६ स्थायी घर भई हाल भक्तपुरमा बसोबास गर्दै आएकी ३१ वर्षीया रमा बस्नेत रहेको ब्युरोले जनाएको छ। उनलाई आइतबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको साइबर ब्युरोका प्रवक्ता एसपी दीपक राज अवस्थीले जानकारी दिए।
अनुसार, बस्नेतले नियोजित रूपमा सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सहिष्णुतामा खलल पुग्ने सामग्रीहरू प्रकाशन गर्दै आएकी थिइन्। त्यसैगरी, उनले विभिन्न राजनीतिक नेतृत्वप्रति अपमानजनक टिप्पणी गर्नुका साथै व्यक्तिगत तथा संस्थागत चरित्र हत्या हुने खालका भिडियो र सन्देशहरू समेत सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोको दाबी छ।
“उनले सामाजिक सद्भावमा नकारात्मक असर पार्ने खालका संवेदनशील विषयहरू नियतवश प्रस्तुत गरिरहेको देखिएको छ,” एसपी अवस्थीले भने, “साइबर अपराधअन्तर्गत कानुनी कारबाही अगाडि बढाइएको छ।”
साइबर ब्युरोले डिजिटल माध्यमबाट हुने अपराधहरूको अनुगमन तथा अनुसन्धानलाई तीव्र बनाएको छ। पछिल्लो समय सामाजिक सञ्जालमार्फत घृणा, भ्रम तथा दुष्प्रचार फैलाउने गतिविधि बढ्दै गएका कारण यसप्रकारका मुद्दाहरूमा कडाइका साथ निगरानी र कारबाही भइरहेको बताइएको छ।













