संसद् अवरुद्ध : रास्वपा र राप्रपाको अडान यथावत्, गृहमन्त्रीको राजीनामाको मागमा अडिग – Sagarmathapana:: Online News Portal

संसद् अवरुद्ध : रास्वपा र राप्रपाको अडान यथावत्, गृहमन्त्रीको राजीनामाको मागमा अडिग

   २०८२ असार १ गते  

काठमाडौं—प्रतिनिधिसभा बैठकमा पुनः अवरोध कायमै रहने निश्चित भएको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समितिको माग गर्दै आन्दोलनरत विपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा अवरोध कायम राख्ने निर्णय गरेका छन्।

आइतबार बिहान सिंहदरबारमा सभामुख देवराज घिमिरेको संयोजनमा बसेको प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूको बैठकपछि रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले स्पष्ट रूपमा भने, “सरकारले हाम्रो मागलाई गम्भीरतापूर्वक नलिएसम्म अवरोध जारी रहनेछ।”

परियारले मानव तस्करी सरहको गम्भीर मुद्दामा राज्य संयन्त्रबाट कुनै ठोस प्रतिक्रिया नआएको आरोप लगाउँदै गृहमन्त्री लेखकको राजीनामा र छानबिन समिति गठनको माग दोहोर्याए। “माओवादी केन्द्रले पनि हाम्रो मागलाई न्याय दिने किसिमले समर्थन नगरेको कारण समस्या जटिल बनेको छ,” उनले टिप्पणी गरे।

त्यसैगरी, राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पनि सरकार र गृहमन्त्रीमाथि आक्रोश व्यक्त गर्दै संसदको अवरोध यथावत् राख्ने अडान दोहोर्याए। “गृहमन्त्रीले छानबिन समिति बनाएर गम्भीर अनुसन्धान गर्नुपर्ने ठाउँमा उल्टै धम्कीजस्तो भाषामा प्रतिक्रिया दिनु गम्भीर चिन्ताको विषय हो,” शाहीले भने।

यसअघि शुक्रबार कांग्रेस, एमाले र माओवादी केन्द्रबीच दुईबुँदे सहमति भई सदन सञ्चालनको पहल गरिए पनि रास्वपा र राप्रपा सहमतिमा सामेल नभएपछि संसद सञ्चालनमा पुनः अन्योल देखिएको छ।

संसद् सञ्चालन अवरुद्ध भइरहँदा सत्ता गठबन्धन र विपक्षीबीचको असहमति झनै चर्किएको छ। रास्वपा–राप्रपाको अवरोध अन्त्य गर्न गम्भीर संवाद र विश्वास निर्माण अपरिहार्य देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै