‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सिनेमाको चरित्र लुक्स सार्वजनिक, बाबु–छोराको सम्बन्ध झल्किने भावुक संवाद
काठमाडौं—नेपाली सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले शनिबारदेखि आफ्ना प्रमुख पात्रहरूको लुक्स सार्वजनिक गर्न थालेको छ। केही दिनअघि अभिनेता विजय बरालको क्यारेक्टर लुक्स सार्वजनिक गरिएकोमा, शनिबार अभिनेता भोलाराज सापकोटा र बालकलाकार आरुस भुसालको लुक्स सार्वजनिक गरिएको हो।
सार्वजनिक लुक्सअनुसार भोलाराज सापकोटा ढाका टोपी, स्टकोट र कमिजमा झुस्स दारीसहितको भूमिकामा थोरै तनावग्रस्त देखिन्छन्। उनी बाबुका रूपमा प्रस्तुत भएका छन्। अर्कोतर्फ, उनका छोरा बनेका आरुस भुसालको क्यारेक्टरले भावुकता झल्काउँछ—उनले रातो लुगा लगाएका छन्, कपाल मुन्डन गरिएको छ, शरीर पसिनाले निथ्रुक्क छ र झोला बोकेको देखिन्छ। मन्दिरको पृष्ठभूमिले उनको संस्कृत अध्ययनसँग सम्बन्धित भूमिका संकेत गर्छ।
आरुसको भावुक संवाद, ‘यो संसारमा सबैभन्दा महंगो कुरो बाबाको पसिना रहेछ’, ले बाउ–छोराबीचको सम्बन्ध, त्याग र संघर्षको भावलाई प्रस्ट पार्दछ।
हिमाल न्यौपानेद्वारा निर्देशित यस सिनेमामा विजय बराल मुख्य भूमिकामा छन् भने मनिष राउत असोसिएट निर्देशकको भूमिकामा रहेका छन्। चलचित्र भदौ ६ गते रिलिज हुने तयारीमा रहेको छ र हाल पोस्टप्रोडक्सनको चरणमा छ।
यस सिनेमामा केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायत कलाकारको अभिनय रहनेछ।
Paperclip ब्यानर अन्तर्गत निर्माण भएको फिल्मका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्माताहरूमा नारायण तिम्सिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।
थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियार सिनेमेटोग्राफर रहेका छन्। कथा, पटकथा तथा संवाद भानुभक्त ढकालको लेखनमा आधारित रहेको फिल्ममा दिनेश बहादुर राउत मुख्य सहायक निर्देशक हुन्।
फिल्मको वितरण काफिया फिल्म्समार्फत गोविन्द शाहीले गर्नेछन्।












