शेखर कोइरालाको आरोप: “ओलीको भ्रष्टाचारविरोधी भाषण व्यवहारमा लागू हुन सकेन” – Sagarmathapana:: Online News Portal

शेखर कोइरालाको आरोप: “ओलीको भ्रष्टाचारविरोधी भाषण व्यवहारमा लागू हुन सकेन”

   २०८२ जेष्ठ ३१ गते  

काठमाडौं—सत्ता साझेदार नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचारविरोधी अभिव्यक्तिहरू व्यवहारमा लागु हुन नसकेको टिप्पणी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री ओलीले पटकपटक दोहोर्याउने “म भ्रष्टाचार गर्दिनँ, गर्न दिन्नँ” भन्ने भनाइ व्यवहारमा असफल भएको जिकिर गरे। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यशैलीमाथि पनि प्रश्न उठाउँदै एउटै मुद्दामा कसैलाई कारबाही र कसैलाई उन्मुक्ति दिने प्रवृत्तिले दण्डहीनतालाई बढावा दिएको आरोप लगाए।

“भ्रष्टाचारविरुद्ध भाषण मात्रले हुँदैन, अब निर्ममतापूर्वक कार्यान्वयनमा जानुपर्ने समय आएको छ,” कोइरालाले भने।

देश आर्थिक र अन्तर्राष्ट्रिय संकटमा

कोइरालाले मुलुकको आर्थिक, प्रशासनिक र अन्तर्राष्ट्रिय साख दिनप्रतिदिन संकटमा पर्न थालेको चेतावनी दिए। उनले सरकार श्रमिकको पारिश्रमिक वृद्धिमा समेत असफल भएको भन्दै आलोचना गरे।

उनले युरोपेली संघले नेपाललाई आतंकवादमा वित्तीय संलग्नताको आशंकामा “ग्रे लिस्ट” मा राखेको विषयमा चिन्ता व्यक्त गर्दै, अन्तर्राष्ट्रिय साख जोगाउन सरकार गम्भीर बन्नुपर्ने धारणा राखे।

“जनताले उद्योगी पाल्नुपर्छ?” – विद्युत् बक्यौता उठाउन दबाव

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको महाधिवेशनमा बोल्दै कोइरालाले सरकारले विद्युत् प्राधिकरणको बक्यौता उठाउन ढिलासुस्ती गरेकोमा असन्तुष्टि जनाए।

“कम्तीमा २३ अर्ब रुपैयाँ उठाउनु पर्ने हो,” कोइरालाले ऊर्जा मन्त्री दीपक खड्कालाई इंगित गर्दै भने, “तर उद्योगी व्यापारीको संरक्षण गर्न जनतालाई उपयोग गर्ने काम भइरहेको छ। जनताले बक्यौता नतिरेको भए प्राधिकरणको अवस्था के हुन्थ्यो भनेर सोचौं।”

उनले व्यवसायीहरूबाट बक्यौता असुल नगर्ने हो भने, सर्वसाधारणले पनि तिर्नुपर्ने आधार गुम्ने बताउँदै चेतावनी दिए – “उद्योगीहरूले नतिर्ने, अनि हामीले किन तिर्ने?”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै