ललितपुरमा न्यायिक तथा अर्धन्यायिक निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
तिखेदेवलमा न्यायिक अन्तरक्रिया : कानुनी सचेतनाबाट समावेशी र सुरक्षित समाज निर्माणतर्फ
ललितपुर,तिखेदेवल–ललितपुर महानगरपालिका–१४ स्थित तिखेदेवलमा आयोजना गरिएको न्यायिक तथा अर्धन्यायिक निकायहरूसँग अन्तरक्रिया कार्यक्रम सफलता साथ सम्पन्न भएको छ। जिल्ला प्रहरी परिसर, जावलाखेलको आयोजनामा सम्पन्न कार्यक्रममा सुरक्षानिकाय, स्थानीय सरकार, न्याय क्षेत्र, नागरिक समाज र समुदाय प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


कार्यक्रमको उद्घाटन ललितपुर महानगरपालिकाकी उप–मेयर मञ्जली शाक्यले गमलाको फूलमा पानी हालेर गर्नुभयो। कार्यक्रमको सभापतित्व वडा नं. १४ का अध्यक्ष अमृतजङ महतले गर्नुभयो।
कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी रमेश ढकालले कानुनी चेतना सबै नागरिकका लागि अनिवार्य भएको बताउँदै आपसी समन्वय र साझेदारीको खाँचो औंल्याउनुभयो।

एसएसपी श्यामकृष्ण अधिकारीले कानुनी दृष्टिकोण स्पष्ट पार्दै भन्नुभयो, “कानुन सबैका लागि बराबर लाग्छ। अपराध गरेपछि ‘थाहा थिएन’ भन्ने छुट कसैलाई छैन।”
कार्यक्रमको विशेष आकर्षण प्रहरी नायब उपरीक्षक (DSP) द्वारिका प्रसाद घिमिरेको प्रस्तुति रह्यो। उहाँले कानुनी सचेतना अभिवृद्धि विषयमा जानकारी दिँदै भन्नुभयो,
“कानुनलाई जनस्तरसम्म लैजानुपर्छ। समुदाय स्वयं कानुनी रूपमा सशक्त भएमा अपराध न्यूनीकरणमा ठूलो टेवा पुग्छ। प्रहरी–समुदाय सहकार्य अपरिहार्य छ।”

कार्यक्रममा न्यायाधिवक्ता बसन्त अर्यालले न्यायिक संरचना र नागरिक अधिकारबारे प्रष्ट पार्नुभयो।
अन्य विशिष्ट अतिथिहरू—पूर्व सांसद मैना अछामी, डा. सृजना कुँवर (पाटन अस्पताल प्रमुख), समाजसेवी कृष्ण ढुंगाना, विष्णु थापालगायतले आ–आफ्ना भनाइमार्फत समुदायमा कानुनी चेतना र उत्तरदायित्व बढाउन जोड दिए।
कार्यक्रम संचालन सामुदायिक प्रहरी सेवा केन्द्र, तिखेदेवलकी प्रमुख फूलकुमारी पौडेलले गर्नुभएको थियो। उहाँले हालका सामाजिक अपराध, हिंसा, साइबर खतरा र सुरक्षाका उपायहरूबारे विस्तृत जानकारी दिनुभयो।
उप–मेयर मञ्जली शाक्यले आफ्नो मन्तव्यमा समाज रुपान्तरणको सुरुवात आफैँबाट गर्नुपर्ने र कानुनी शिक्षा विद्यालयदेखि नै सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले आगामी वर्ष युवालाई लक्षित कानुनी सचेतना अभियान संचालन गरिने जानकारी पनि दिनुभयो।


कार्यक्रममा रेड एन्ट, सामाजिक अभियन्ता, स्थानीय सरोकारवालाहरूको सक्रिय उपस्थिति थियो। उनीहरूले आफ्ना अनुभव र जिज्ञासाहरू सञ्जालमा साझा गरे।
कार्यक्रमको समापन गर्दै वडा अध्यक्ष अमृतजङ महतले तिखेदेवलबाट सुरु भएको यस्ता संवादले समाज रूपान्तरणतर्फ सकारात्मक बाटो खोल्ने विश्वास व्यक्त गर्नुभयो।












